तेह्रथुमः नेपाल बैंकर्स सङ्घको आयोजना र एनआइसी एसिया बैंकको सहयोगमा तेह्रथुमको म्याङलुङमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । बैंकले प्रदान गर्ने कर्जामा कसरी सहज पहुँच पुर्याउने भनेर जानकारी दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

आर्थिक वर्ष २०७५–७६ को बजेटमा सरकारले व्यवस्था गरेको कर्जामा तोकिएको ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिअन्तर्गत कार्यक्रम गरिएको बताइएको छ । सो कार्यविधिअनुसार म्याङलुङबाट ३ जना ग्राहकलाई व्यावसायिक कृषि परियोजना अन्तर्गत सहुलियत कर्जा दिइएको बताइएको छ । तेजबहादुर बस्नेत, विष्णुप्रसाद सुवेदी र नरेन्द्रकुमार सुब्बालाई राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी तथा नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जा सुविधा पत्र कार्यक्रममा प्रदान गरेका थिए ।

म्याङलुङमा स्थापित अन्य बैंकमार्फत् पनि ग्राहकलाई कर्जा सुविधा प्रस्ताव हस्तान्तरण गरिएको थियो । डेपुटी गभर्नर शिवाकोटीले ग्रामीण क्षेत्रका सर्वसाधारण जनतालाई वित्तीय साक्षरता तथा सहुलियत कर्जाका बारेमा विस्तृत रूपमा जानकारी गराउन कार्यक्रमले सहयोग पुगेको बताए ।

सरकारका यस्ता कार्यक्रममा बैंकिङ क्षेत्रबाट पूर्ण रूपमा सहयोग रहने नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताएका थिए ।