इटहरीः मोरङको सुन्दरहरैंचा–७ निवासी आगलागीपीडित गोविन्द दुलालको परिवारलाई लायन्स क्लब अफ सुन्दरदुलारीले आर्थिक सहयोग प्रदान गरेको छ ।
क्लबका अध्यक्ष पीतकुमार श्रेष्ठले पीडित दुलालको घरमै पुगेर १५ हजार ५ सय रुपैयाँ प्रदान गरेका हुन् । कार्यक्रमका लायन्सका पदाधिकारीका साथै सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धना तामाङको पनि उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित तामाङले सुन्दरहरैंचाको दमकल ढिलो आउने गरेको भन्ने गुनासो अब नगरवासीले सुन्नुनपर्ने बताइन् । समयमै दमकल आगलागीस्थलमा पुग्ने वातावरण नगरपालिकाले बनाइसकेको उनले बताइन् । सुन्दरहरैंचाको दमकल ढिलो आगलागीस्थलमा पुग्ने गरेको भनी व्यापक आलोचना भए पनि नगरपालिकाले दमकलको व्यवस्थापनमा चासो नदिएको नगरवासीको आरोप रहेको छ ।