तस्बिरः सौजन्य लक्ष्मण थापा

धरानः लोक रक ब्याण्ड नेपथ्य १५ वर्षपछि धरानमा शुक्रबार गुञ्जिएको छ । नेपथ्यले आफ्नो २५ औं वर्षगाँठको अवसर पारेर धरानमा गुञ्जिएको हो ।

धरान–१८ को मङ्गोलियन क्याफे (एमसी कफी) र धराको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको सामाजिक संस्था परिक्रमा विद्यार्थी परिवारको संयुक्त आयोजनामा नेपथ्यको लाइभ कन्सर्ट धरानमा भएको हो ।
धरान–१६ स्थित रङ्गशालामा निर्धारित समय साँझ पौने ६ बजे शुरु भएको लाइभ कन्सर्टमा नेपथ्यले डेढ दर्जन आफ्ना चर्चित गीत धराने स्रोतामाझ पस्केको थियो । ‘आँगनैभरी हिउँ नै झरे, अरु फूल है टिपी राखे है...’ बोलको गीतबाट नेपथ्यले प्रारम्भ गरेको आफ्नो प्रस्तुति चर्चित राष्ट्रिय गीत ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो...’ बोलको गीत गाउँदै धराने स्रोताबाट बिदा लिएको थियो ।

करिब साँझको ८ बजेसम्म चलेको लाइभ कन्सर्टमा ‘छेक्यो–छेक्यो देउराली डाँडा...’ चरी मर्याे सिसैको गोलीले...’, ‘जोमसोमै बजारमा बाह्र बजे हावा सरर...’, भेडाको उनजस्तो...’, ढोल बज्यो गजैले...’, तालको पानी, माछीले खानी...’, रेशम रेशम...’ लगायतका आफ्ना चर्चित गीतहरू धराने स्रोतामाझ पस्केका थिए । ब्याण्डका भोकलिष्ट अमृत गुरुङले गीतसँगै बेला–बेलामा नेपालको पर्यटकीय क्षेत्रहरूको बारेमा वर्णन गरेका थिए ।

‘तपाईंहरू पोखरा जानुभ’को छ, माछापुच्छे्र«, अन्नपूर्ण, कालीगण्डकी, जोमसोम घुम्नुभ’को छ ? छैन भने सबै मिलेर जानुपर्छ है....,’ उनले भने, ‘कहाँकहाँबाट त हाम्रो ठाउँ घुम्न आउँछन् ।’

उनले ट्राफिक सचेतनाको बारेमा समेत युवाहरूलाई सचेत गराए । ‘पूर्वमा त ट्राफिक प्रहरीले ट्राफिक सचेतना अभियान चलाएको रै’छ, आफू पनि बचौं, अरुलाई पनि बचाऔं, ट्राफिक नियम पालना गरौं है त....,’ उनले भने, ‘पोखरा घुम्न आउँदा ट्राफिक नियम पालना गर्दै आउनुस् है त.....।’

लगातार करिब २ घण्टा ५५ मिनेट आफ्नो प्रस्तुति दिएको नेपथ्यको लाइभ कन्सर्ट हेर्नका लागि केटाकेटीदेखि बुढाबुढीसम्म खचाखच थिए । धरानमा हुने अन्य कन्सर्टको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

शिक्षा र स्वास्थ्यलाई लक्षित गरेर कन्सर्ट आयोजना गरिएको हो । नेपथ्य ब्याण्डबाट सङ्कलित रकमले ‘परिक्रमा रिसर्च फाउण्डेशन’ खोलिने संस्थाका अध्यक्ष सागर पन्थीले बताए ।

चर्काे पार्किङ शुल्क लिएको आरोप
नेपथ्यको कन्सर्टमा चर्को सवारी पार्किङ शुल्क उठाएको भन्ने आरोप आयोजकमाथि लागेको छ । एक मोटरसाइकल बराबर ५० रुपैयाँ पार्किङ शुल्क लिइएको थियो । पार्किङ शुल्क उठाए पनि हेलमेटको जिम्मेवारी नलिएको धरान–११ का समीर राईले बताए । ‘हावामा ५० रुपैयाँ उठाएको छ । हेलमेटको जिम्मा शुल्क काट्नेले लिएन । हेलमेट साथै लानु भन्यो,’ उनले भने, ‘फेरि उता हेलमेट भित्र लानु मिल्दैन भन्दै गेटमा छेक्यो । धेरै तनाव भयो ।’

nepathya 2 nepathya 1