बेलबारीः मोरङको सुन्दरहरैंचाको सलकपुरमा बस्ने मृगौलापीडित सोफिया अधिकारीको उपचारको लागि बेलबारीका स्थानीयले सहयोग रकम प्रदान गरेका छन् ।

दुवै मृगौला बिग्रिएर काठमाडौंमा उपचार गराइरहेकी अधिकारीको उपचारमा आर्थिक अभाव देखिएपछि स्थानीयहरू उनको उपचारको लागि सहयोग गर्न जुटिरहेका छन् । यसै क्रममा बेलबारी– २ लालभित्तीमा रहेको सूर्याेदय सामाजिक संस्थामा आबद्ध स्थानीयले पनि उनको उपचारमा सहयोग होस् भनेर रकम प्रदान गरेका छन् ।

सो संस्थाले देउसीभैलो खेलेर जम्मा गरेको १६ हजार रुपैयाँ सोफिया बचाउ अभियानकी सदस्य सरिता भट्टराई मगरलाई हस्तान्तरण गरेकी हुन् ।

देउसीभैलोमार्फत् जम्मा गरेको सो रकम बेलबारी नगरपालिका वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतममार्फत् वितरण गरिएको थियो । रकम हस्तान्तरण तथा देउसीभैलो समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले सूर्याेदय सामाजिक संस्थाले नामअनुसारको काम गरेको बताए ।

त्यस्तै, आदर्श टोल विकास संस्थाका अध्यक्ष रन्जित गुरुङले समाजमा स्थापित सामाजिक सङ्घसंस्थाहरूले समाजलाई भावनात्मक रूपमा जोडेको उदाहरणको रूपमा यो सहयोग रहेको उल्लेख गरे ।

संस्थाले २०७५ सालको देउसीभैलोमा सङ्कलन भएको रकम पनि सार्वजनिक गरेको छ । संस्थाले २०७५ सालको तिहारमा खेलाएको देउसीभैलोबाट रु १ लाख ७५ हजार ५ सय रुपैयाँ सङ्कलन भएको बताएको छ । सम्पूर्ण खर्च कटाएर २१ हजार ७ सय २३ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा देउसीभैलो २०७५ मा सक्रिय भूमिका निर्वाह गर्ने विभिन्न कलाकार तथा नृत्य प्रशिक्षकलाई सम्मान गरिएको थियो ।
रकम हस्तान्तरण तथा देउसीभैलो समापन कार्यक्रममा कविर निरन्तर विकास संस्थाका अध्यक्ष डीबी लिम्बू, स्थानीय समाजसेवी खगेन्द्र न्यौपाने, रमिते सामुदायिक वन उपभोक्ता समितिका राजु परियार, लालभित्ती बचत तथा ऋण सहकारी संस्थाका सीताराम न्यौपाने, गायक तथा सङ्गीतकर्मी सञ्जीव धिमाललगायतको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष धन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन जेबी थुलुङले गरेका थिए ।

sofiya bachau (1) sofiya bachau (2)