इटहरीः सुन्दरहरैंचा–७ गोठगाउँमा क्रियाशील सामाजिक सेवाका लागि युवा अभियान (वाइएसएस) नेपालले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सोही वडाका आगलागीपीडितलाई दिएको छ ।
गत कात्तिक १७ गते साँझ सुन्दरहरैंचा–७ गोठगाउँस्थित पुष्पाञ्जली चोकका गोविन्द दुलालको घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामान जलेको थियो । तिहारको पूर्वसन्ध्यामा भएको आगलागीमा परी दुलालको घरमा क्षति पुगेपछि तिहारमा देउसी खेलेर सङ्कलन गरेको रकमबाट पीडित परिवारलाई प्रदान गरिएको वाइएसएस नेपालले जनाएको छ ।
संस्थाले देउसी खेलेर जम्मा गरेको रकममध्ये ५ हजार १ सय रुपैयाँ र सोही संस्थाकै पहलमा गोठगाउँका युवा खड्ग श्रेष्ठले दिएको ५ हजार रुपैयाँसहित १० हजार १ सय रुपैयाँ पीडितलाई प्रदान गरिएको संस्थाका अध्यक्ष ज्ञाननाथ ढकालले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा सुन्दरहरैंचा–७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौला र वाइएसएसका सल्लाहकार संयोजक उमेश उप्रेती पनि उपस्थित थिए । त्यस्तै, आगलागीपीडितलाई सुन्दरहरैंचा–७ को जनसहयोग युवा क्लबका तर्फबाट क्लबका अध्यक्ष तथा सुन्दरहरैंचा वडा नम्बर ७ का वडा सदस्य भुवनसिंह आलेले पनि ५ हजार १ सय रुपैयाँ सहयोग गरेका थिए ।
वाइएसएस नेपालले स्थापनाको छोटो समयमा नै रक्तदान कार्यक्रम, चोक तथा बाटो सरसफाइ, जेब्राक्रस निर्माणलगायतका रचनात्मक काम गरिरहेको ढकालले बताए । चाँडै नै सुन्दरहरैंचा–७ को एक विद्यालयमा रहेका अपाङ्ग विद्यार्थीका लागि स्कुल ब्याग वितरण र पञ्चायत माध्यमिक विद्यालयलाई एउटा पोडियम (रोष्ट्रम) प्रदान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।