धरानः पूर्वमा पनि सुनचाँदीको दैनिक दरभाउ ‘डिजिटल डिस्प्ले’मा राखिने भएको छ ।

काठमाडौमा १ वर्ष अघिदेखि नै प्रयोगमा आएको डिजिटल डिस्प्ले मेसिन पूर्वमा पहिलो पटक प्रयोगमा आएको हो । अब सुनाचाँदीको दरभाउ प्रष्ट रूपमा डिजिटल डिस्प्लेमा देख्न सकिने भएको हो ।

सुनसरी सुनचाँदी व्यावसायी सङ्घद्वारा धरानमा आयोजित एक कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले डिजिटल डिस्प्लेको उद्घाटन गरे । व्यवसायीहरूलाई डिजिटल डिस्प्ले मेसिन सभामुख भण्डारीले वितरण गरे । पहिलो चरणमा ५० वटा डिस्प्ले मेसिन वितरण गरिएको सङ्घका सुनसरी अध्यक्ष किसन मास्केले बताए । उनका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासङ्घ काठमाडांैबाट दैनिक ११ बजे सुनचाँदीको भाउ खोल्ने बित्तिकै डिजिटल डिस्प्लेमा देख्न सकिनेछ ।

उनका अनुसार सो डिस्प्लेमा सफ्टवेयरमा जोडिएको ‘मेमोरी चिप्स’ राखिएको हुन्छ । यसबाट महासङ्घका सदस्यहरूले राखेको डिस्प्लेमा एकसाथ सुनचाँदीको दैनिक दरभाउ जान्छ । यसबाट कागजमा लेखेर पसलै पिच्छे पु¥याउने झन्झटबाट आफूहरू मुक्त भएको अध्यक्ष मास्केले बताए ।

‘हामीले कागजको चिटमा स्ट्याम्प लगाएर दरभाउ लेखेर पसलैपिच्छे पु¥याउनु पथ्र्यो ।, कहिलेकाहीँ त २ बजेसम्म पनि पसलपसलमा बाँड्नु पथ्र्याे, त्यो झन्झटबाट मुक्त भइयो,’ अध्यक्ष मास्केले भने, ‘सुनचाँदीको भाउ त इन्टरनेसनल हिसाबले बढ्ने घट्ने हुन्छ । भाउ घट्ने वा बढ्ने बित्तिकै डिस्प्लेमा देखाइहाल्छ, यसबाट उपभोक्ता र व्यवसायी दुवै ठगिन पाउँदैनन् ।’
उनका अनुसार महासङ्घले धेरै अध्ययन गरेर यो प्रणाली लागू गरेको हो । डिजिटल डिस्प्लेको मूल्य ११ हजार रुपैयाँ रहेको मास्केले बताए । १ महिना अघिदेखि नै ५ थान मेसिन ल्याएर चेक गर्दा कुनै समस्या नआएकाले यसले प्रभावकारी कार्य गर्ने उनले बताए ।

सङ्घका सम्पूर्ण सदस्यहरूले डिजिटल डिस्प्ले अनिवार्य रूपमा लिनुपर्ने उनले बताए । त्यसैगरी, धरानको मुख्य सुनचाँदी बजारलाई लक्षित गरी ठूलो डिजिटल बोर्डसमेत राख्ने योजना रहेको सङ्घका सुनसरी अध्यक्ष मास्केले बताए ।

कार्यक्रममा धरानका सुनचाँदी व्यवसायी, सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्य तथा पूर्वका विभिन्न जिल्लाका सुनचाँदी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

sunchadi dharan (1) sunchadi dharan (4) sunchadi dharan (3)