झापाः खुला नुनको आयातमा सरकारले प्रतिबन्ध लगाए पनि पूर्वी नाकाबाट यसमा संलग्न कारोबारीले यसको धन्दा चलाइरहेका छन् । सीमावर्ती भारतीय बजारबाट खरिद गरी नेपाली सुरक्षा अधिकारीको आँखा छलेर कारोबारीहरुले नेपाली बजारमा यस्तो नुन भित्र्याउने गरेका छन् ।
उपभोक्तामा रहेको चेतना अभावका कारण ग्रामीण भेगका स्थानीय बिना आयोडिनको नुन खान बाध्य छन् । कारोबारीहरूले चौपायाका लागि भन्दै नुन आयात गर्ने गरेका छन् ।
यसै क्रममा अवैध रूपमा नेपाल भित्रियाउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले भारी मात्रामा बिना आयोडिनको खुला नुन पक्राउ गरेको छ । भारतीय बजार पानट्याङ्कीबाट खरिद गरेर साइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गर्दा नुन बरामद गरेको प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । पक्राउ गरिएको नुन आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाउने प्रहरी निरीक्षक ठाकुरले बताए ।
नेपाल आयातमा प्रतिबन्धित खुला नुन भारतीय सीमा बजारमा खुला रूपमै बिक्री हुने गरेको छ ।
भारतका विभिन्न कम्पनीले साबुन, डिटरजेण्ट पाउडर बनाउन प्रयोग गर्ने नुन धमाधम नेपालीले खानु परेको बताइएको छ । नुनको प्रयोग गर्न नजानेकै कारण आयोडिनबाट धेरै उपभोक्ता वञ्चित रहेका छन् ।