इटहरीः रोटरी नेपाल साक्षरता अभियान रिजन ७ ले इ लर्निङ प्रोजेक्टअन्तर्गत १ सय २० वटा विद्यालयलाई सहयोग गर्ने भएको छ ।

रोटरी नेपालका भूतपूर्व जिल्ला गभर्नर वासुदेव गोल्यानका अनुसार पूर्व क्षेत्रमा रहेका १ सय २० वटा सामुदायिक विद्यालयलाई १ थान प्रोजेक्टर, सफ्टवेयर, स्पीकर, माइक, कि–बोर्ड, माउस, पर्दा जडान गर्ने सम्झौता भएको छ । अभियान अन्तर्गत रोटरी नेपाल साक्षरता अभियान रिजन ७ का क्लब, विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिका र दोस्रो पक्ष १ सय २० सरकारी विद्यालयबीच सहमति भएको हो ।

सहयोग हस्तान्तरण समारोहका प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरे, रङ्गेली नगरपालिकाका मेयर दिलीप बगाडिया, रोटरी नेपाल साक्षरता अभियानका प्रमुख तीर्थमान शाक्यको उपस्थिति रहेकोे थियो ।

सो अभियान अन्तर्गतको इ–लर्निङ कक्षा सञ्चालनका लागि विद्यालयबाट छनोट भएका ४ जना शिक्षकलाई कक्षा सञ्चालनको लागि निःशुल्क तालिम प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

पूर्वमा रहेका सरकारी विद्यालयको लागि पहिलो पटक नयाँ प्रविधिबाट विद्यार्थीलाई शिक्षा प्रदान गर्ने सोचका साथ कार्यक्रम शुरु गरिएको र यसको लागि १ करोड १४ लाख ४० हजार रकम खर्च गरिएको आयोजकले जनाएको छ ।

रोटरीको सहयोगले विद्यार्थीलाई पढ्न थप उत्साह मिल्ने आयोजकको भनाइ छ । नयाँ प्रविधिसम्बन्धी ज्ञान सहित नेपालमा साक्षरता अभियानलाई सफल पार्न यो अभियान पूर्वमा पहिलो पटक भित्र्याएको पनि आयोजकको भनाइ छ ।

WhatsApp-Image-2018-11-18-at-12.48.34-PM-1