बेलबारीः मोरङको बेलबारी– २ मा रहेको सिंहदेवी आधारभूत विद्यालयमा दाताहरूले ७ लाख ७१ हजार ६ सय ६६ रुपैयाँ बराबरको अक्षयकोष विद्यालयको नाममा स्थापना गरेका छन् ।

बेलबारी–१ का स्वर्गीय दानबहादुर कार्कीले वि.सं. २०४८ सालमा स्थापना गरेको सो विद्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरी रकम प्रदान गरिएको हो । विद्यालयका संस्थापक कार्कीका छोरा शम्भु कार्की र दौपदा कार्कीले ५ लाखको चेक विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

उनीहरूले विद्यालयकै नाममा सो कोष राखेका छन् । विद्यालयको नाममा अक्षयकोष स्थापना गर्दा एउटै खाताले काम चल्ने हुनाले झण्झटरहित हुने भएकाले विद्यालयको नाममा अक्षयकोष स्थापना गरिएको बताइएको छ ।

सो अक्षयकोषमा बेलबारी–१ का श्याम कार्कीले १ लाख, भैरवबहादुर कार्की र गंगादेवी कार्कीले ५१ हजार १ सय ११, बेलबारी–३ का प्रतापकुमार थापाले ५१ हजार १ सय ११ र बेलबारी– २ की खिनामाया थापा बस्नेतले ५ हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।

त्यस्तै, सुन्दरहरैंचा–११ का सुन्दर कार्की, सुन्दरहरैंचा–१२ की राधा कार्की झापाकी साबित्रा कार्की थापाले ११ हजार १ सय ११ रुपैयाँका दरले अक्षयकोषमा रकम जम्मा गरेको बताइएको छ ।