झापाः पिउने पानीका कारण लाग्ने रोग तथा त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिने उद्देश्यले झापाको मेचीनगरमा १ दिने पानी परीक्षण अभिमुखीकरण गोष्ठी आज सम्पन्न भएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पानी सुरक्षा समितिको संयोजनमा संस्थाको सभाहलमा गोष्ठी आयोजना गरेको हो ।

गोष्ठीमा पानी विशेषज्ञ घनश्याम झाले मुहानदेखि उपभोक्ताको मुखसम्म पुग्ने पानी स्वस्थ र स्वच्छ हुनुपर्ने बताए । उनले पानीमा हुने विभिन्न रसायनहरू आवश्यकभन्दा बढी भए मानव शरीरका लागि हानिकारक हुने भएकाले त्यस्ता वस्तुको प्रयोगमा ध्यान दिन समेत सहभागीलाई जानकारी दिए । पिउने पानी असुरक्षित भए झाडा पखालादेखि क्यान्सरलगायतका भयानकसम्मका रोग लाग्ने उनले बताए ।

संस्थाका अध्यक्ष हर्कबहादुर लिम्बू फियाकको सभापतित्वमा गोष्ठी भएको थियो । संस्थाका कोषाध्यक्ष दीलिप सुवेदीले हाल इनार र ट्युवेलको पानी प्रयोग गरिरहेका उपभोक्ताहरूलाई एक पटक पानीको गुणस्तर परीक्षणका लागि आग्रह गरे ।