इटहरीः इटहरी– ८ मा रहेको पाथीभरा आमा भक्ति सेवा संस्थाद्वारा आयोजित पुराणमा एक दम्पत्तिले १० धुर जग्गा दान गरेका छन् ।

आज इटहरी– ८ निवासी नारायण चौधरी र उनकी पत्नी उर्मिला चौधरीले आश्रमका लागि ३५ लाख मूल्य पर्ने १० धुर जग्गा दान गरेका हुन् । त्यसैगरी, दाताहरू चन्द्र कटुवाल एवम् मधुमाया कटुवालद्वारा मोरङको केराबारीमा रहेको आफ्नो १ कठ्ठा जग्गा आश्रमको निम्ति दान गरेका छन् । यसरी नै टीका खनालले झपाको गौरादहस्थित १ कठ्ठा जग्गा दान गरेका छन् । सप्ताह पुराण समापनको दिन आज आश्रमको शिलान्यास गरिएको छ । आश्रमको शिलान्यास जग्गादाता चौधरी परिवारले गरेको थियो ।

हालसम्म पुराणमा उपस्थित हुने भक्तजनबाट लाखौं लाख रकम दानस्वरूप आएको सप्ताह पुराण आयोजक समितिकी अध्यक्ष दीपा राईले बताइन् ।

कात्तिक २४ गतेदेखि आयोजित सो पुराणमा युवा पण्डित श्री कुबेर सुवेदी प्रमुख वाचक एवम् महेश भट्टराई उपवाचकको रूपमा रहेका छन् ।

विभिन्न सामाजिक सेवा गर्दै आएको यस पाथीभरा आमा भक्ति सेवा संस्थाले पुराणमा सङ्कलित रकमलाई असहाय, अनाथ बालबालिका र वृद्धका लागि आश्रम निर्माणार्थ अक्षयकोष निर्माण गर्ने जनाएको छ ।

puranma dan (2) puranma dan (4) puranma dan (1)