इटहरीः घरदैलो भेटघाटका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आउँदो वर्षदेखि नगरबस सञ्चालन गरिने बताएका छन् । कनेक्टीभिटीमा जोड दिँदै ३ वर्षमा गाउँलाई शहरसँग जोड्ने र आउँदो सालदेखि नै नगर बस सञ्चालन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । मङ्गलबार बिहान वडा नम्बर १८ को बडहरादेखि तरहरासम्मको यात्रा गर्ने क्रममा स्थानीयवासीसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बिहानको समयको सदुपयोग गर्दै मेयर चौधरी नगरवासीको घरदैलोमा पुग्न थालेका छन् । नगरवासीलाई उपमहानगरवासी भएको अपनत्व गराउन घरदैलो अभियान शुरु गरिएको नगरले जनाएको छ ।

ऐतिहासिक भान्से पोखरीको संरक्षण गरिने
वडा नम्वर १८ मा रहेको इटहरीकै ठूलो ऐतिहासिक भान्से पोखरीको संरक्षण गरिने पनि उनले बताए । चुनाव जितेपछि जनताका घरआँगनमा नेताको नाकमुख नदेखिने परिपाटीको अन्त्य गर्न आफू लागेको उनले वडावासीसँगको भेटघाटमा बताए । एउटा वडामा ५ वर्षमा ५ किलोमिटर बाटो पनि पिच भएन वडावासीले नपत्याउने चौधरी बताउँछन् ।

इटहरीको बडहरादेखि तरहरा जोड्ने करिब ७ किलोमिटर सडक बहुबर्षे योजना अन्तर्गत तीन वर्षमा कालोपत्रे गरिसक्ने पनि उनले बताए । सो बाटो वडा नम्बर १८, १९ र २० लाई जोड्ने ग्रामीण क्षेत्रको मूलबाटो हो ।

किसानलक्षित कार्यक्रम
उपमहानगरले किसानलक्षित विभिन्न कार्यक्रम गर्ने पनि उनले जनाएका छन् । यसै वर्षदेखि किसानलक्षित कार्यक्रम अघि बढाइने उनको भनाइ छ । माछापालनको लागि पोखरी खन्न तत्कालै नगरपालिकाले निःशुल्क डोजर उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

mayer 18 wada bhet (1) mayer 18 wada bhet (2)