इटहरीः सुनसरीको दुहबीमा सुविधासम्पन्न सुपर मार्केट सञ्चालनमा आउने भएको छ ।

ग्रामीण क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गरी ग्रामीण महिलाको आर्थिक उपार्जनमा सहयोग पु¥याउन फरवार्ड इन्टरप्राइजेजमार्फत् सुपर मार्केट सञ्चालन गर्न लागिएको फरवार्ड इन्टरप्राइजेजकी अध्यक्ष भगवती चौधरीले बताइन् ।

पूर्वराज्य मन्त्रीसमेत रहेकी अधिकारवादी चौधरीका अनुसार स्थानीय कृषिजन्य वस्तुको व्यावसायीकरण गर्दै महिलालाई आत्मनिर्भर बनाउन सपिङ सेन्टर निर्माण गरिएको हो ।’ सो भवनको पहिलो र दोस्रो तलामा सुपरमार्केट रहने छ । जहाँ उपभोक्ताले स्थानीय स्तरका उत्पादित वस्तु खरिद गर्न सक्नेछन् । खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स आइटम, कस्मेटिक्स, कम्प्युटरका आइटम लगायतका वस्तु पाइने बताइएको छ ।

यसैगरी, तेस्रो र चौथो तल्लामा बैंक, वित्तीय संस्थाका कार्यालय रहनेछन् । पाँचौँ तलमा थ्रिडी सहितको अत्याधुनिक सिनेमा हल सञ्चालनमा ल्याइने भएको छ । छैटौं तलामा स्थानीय आदिवासी जनजातिका परम्परागत परिकार समेत पाइने रुफटप रेष्टुरेन्ट रहने चौधरीले बताइन् ।

स्थानीय स्तरमा उत्पादित सामग्री र परम्परागत वस्तुलाई प्राथमिकता दिएर सुपरमार्केट सञ्चालनमा गरिने चौधरीको भनाइ छ । ८ तले सुपरमार्केटले दुहबी, खनार, विराटनगर, इनरुवा क्षेत्रका जनतालाई सेवा दिने बताइएको छ ।

त्यस्तै, करिब दुई सयले प्रत्यक्ष रोजगारी पाउने सो सुपरमार्केट पुस महिनादेखि पूर्ण रूपमा सञ्चालनमा आउने पनि उनले जनाइन् ।

forward bajar duhbi (1) forward bajar duhbi (2) forward bajar duhbi (4) forward bajar duhbi (5)