इटहरीः हिजो इटहरीको मध्य बजारमा रहेको धरान लाइनको रेखा पराजुलीको घरमा आगो लाग्यो ।

१ बजेर २० मिनेट हाराहारीमा लागेको अनुमान गरिएको आगोले पराजुलीको घरमा व्यवसाय गर्दै आएका नेत्र भट्टराईको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा ठुलो क्षति गर्यो ।

पराजुलीको घरमा सल्केको आगोले छिमेकी गणेश लुइँटेलको कपडा पसल भएको घरमा पनि क्षति गर्यो । क्षति कम गराउन इटहरीबाहेक धरान, विराटनगर, दुहबी, इनरुवा, दमक, सुन्दरहरैचा आदि क्षेत्रबाट ८ वटा दमकल आए । ८ वटै दमकलले इटहरी बजार क्षेत्रमै रहेको उपमहानगर परिसरको पोखरीबाट धमाधम पानी उघाएर आगो निभाउन थाले ।

तर सारा दमकलभन्दा स्तरीय र कम झन्झटले अग्नि नियन्त्रकले सेन्ट्रल प्लाजाबाट आगो निभाइरहेका थिए । दमकलमा आएको पानीले १५ मिनेट हाराहारी मात्रै पुग्थ्यो । अनि, फेरि लिएर आउँदाजाँदा समय धेरै लाग्ने । दमकलको ठाउँठाउँमा पाइप फुटेको थियो । हात र प्लास्टिकले टालेर काम चालउने बाध्यता देखिन्थ्यो । तर, ती सब असहजतालाई सहज बनाउन सेन्ट्रल प्लाजाको प्रविधि धैरै राम्रो भयो । पानी पाइपमा जोडेपछि निरन्तर कुनै अवरोधबिना गइरह्यो । यसले पानी भरेर आउने जाने दमकल भन्दा सजिलो भयो । दमकलले भेट्न नसक्ने ठाउँमा पनि सो प्रविधिबाट पानी चढाएर आगलागी नियन्त्रण भयो । इटहरी बजारको थप क्षति हुनबाट जोगियो ।

के हो सेन्ट्रल प्लाजाको त्यो प्रविधि ?
इटहरी बजार क्षेत्रमा बनेको सेन्ट्रल प्लाजा सबैभन्दा अग्लो भवन मात्रै होइन सबैभन्दा अत्याधुनिक भवन पनि हो । यहाँ आगलागी नियन्त्रण गर्नलाई आफ्नै प्रविधि जडित छ । जसअनुसार भवनको हरेक फ्लोरमा एक भल्भ ल्याइएको हुन्छ जहाँ जमिनमुनि जमाएको पानी निकालेर आगलागी भएको क्षेत्रमा पुर्याइन्छ ।

भुइँतलामा २ लाख लिटरको पानी ट्यांकी छ । जहाँबाट पानी तानेर आगलागी नियन्त्रण गर्न सकिन्छ । निरन्तर बोरिङ भएर आउने पानी ट्यांकी भरिएपछि स्वतःःबन्द हुन्छ । २ सय मिटर मुनिबाट तानिएको बोरिङ छ । १ लाख स्क्वायर फिटको भवन मुनि वारपार यो ट्यांकी जडान गरिएको छ ।

पानी एक सेकेन्ड पनि नरोकिइकन लगातार घन्टौंसम्म आउँछ । पानीको प्रेसर पनि यसमा दमकल भन्दा अत्यन्तै धेरै हुन्छ । पानी लिकेज हुने, पाइज जडान गर्ने अनि सकेपछि फेरि भर्न जाने दमकलको जस्तो झण्झट हुँदैन ।

सेन्ट्रल प्लाजाका मेनेजिङ डाइरेक्टर सिद्धार्थ श्रेष्ठका अनुसार यो प्रविधिलाई फायर फाइटिङ रिजर्भ ट्यांकी भनिन्छ । यो जडान, उपकरण र अन्य सबै खर्चमा न्यूनतम ३० लाख खर्च हुन्छ । विदेशमा सबै व्यावसायिक भवनमा यो प्रविधि छ । काठमाडौंमा पनि नयाँ व्यावसायिक भवनमा यो प्रविधि अनिवार्य गरिएको छ । इटहरीमा भने यो प्रविधिले बनेको घर सेन्ट्रल प्लाजा मात्रै हो । सेन्ट्रल प्लाजाबाट १ सय मिटर भन्दा नजिक रहेको पराजुलीको घरमा दमकल भन्दा राम्रोसँग यो प्रविधिबाट पानी फयाँकेर आगो निभाइएको थियो । दमकलजस्तो हतास, तनावबिना यो काम गर्न सकिएको श्रेष्ठले बताए ।

प्रविधि जडान गर्दा महँगो भयो भन्ने लागे पनि विपतमा कराडौँको क्षति जोगाएकोमा खुशी लागेको श्रेष्ठले बताए । ‘लाखौँको यो प्रविधिले करोडौँको क्षति जोगायो’, श्रेष्ठले भने, ‘अझ अन्य घरले त हाम्रा घरहरु जोगाउनुभयो भनेर आशिष दिनुभएको छ । त्यो कुराले झन् खुशी लागेको छ ।’

aag0 niyantran prabidhi (1) aag0 niyantran prabidhi (6) aag0 niyantran prabidhi (5) aag0 niyantran prabidhi (4)