इटहरीः गत असार महिनामा रतुवा नदीमा आएको बाढीवाट रतुवामाई नगरपालिका वडा नं. ३ का २३ घर परिवार विस्थापित भएका थिए । घरबार पूर्ण रूपमा क्षति भई विस्थापति भएका ती परिवारलाई रतुवामाई नगरपालिकाले प्रति परिवार रु. १० हजारका दरले घर निर्माणार्थ राहत रकम उपलब्ध गराएको छ ।

सोमबार नगरपालिकाको ३ नम्बर वडामा भएको कार्यक्रममा नगरप्रमुख रविन राई र उपप्रमुख दयन्तादेवी चुडालले बाढीपीडितलाई राहत रकम प्रदान गरेका हुन् ।

राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रविन राईले नगरपालिकाको तर्फबाट उपलब्ध गराएको सो रकमले दुःखको घाउमा मलम पट्टीको काम गर्ने बताए । उनले नगरको दुवै तर्फ रहेको बक्राहा र रतुवा नदी नियन्त्रण नै नगरको प्रमुख चुनौती रहेको उल्लेख गरे । नगरपालिकाले नदी नियन्त्रणका लागि माथिल्ला निकायमा समन्वय गर्दै दीर्घकालीन तरिकाले काम गर्ने उनले बताए । नगरपालिकाले राहतस्वरूप रकम उपलब्ध गराएकोमा बाढीपीडितले खुशी व्यक्त गरेका थिए ।

राहत वितरण कार्यक्रममा नगर प्रमुख राई, उप प्रमुख चुडाल, जिल्ला समन्वय समिति मोरङका उपप्रमुख प्रकाशकुमार शाह, रतुवामाईको ३ नम्बर वडाका वडाध्यक्ष बुलनदेव सिंह गनगाई, नगरपालिकाका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, बाढी प्रभावित घरपरिवारलगायत स्थानीयको उपस्थिति थियो ।

ratuwa mai mayer & upmayer (1)