झापाः मेचीनगर नगरपालिकाको वडा नम्बर २ लाई खुला दिसामुक्त वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालयमा आयोजित घोषणा सभामा नगरपालिकाकी निमित्त प्रमुख मीना पोखरेल उप्रेतीले खुला दिसामुक्त वडा घोषणा गरेकी हुन् ।
कार्यक्रममा बोल्दै उनले नगरका १५ वटै वडालाई खुला दिसामुक्त वडा घोषणाको अन्तिम तयारी भइरहेको बताइन् । नगरपालिकाभित्र रहेका चिया कमान र त्यहाँ कार्यरत मजुरका क्वाटरमा व्यवस्थित शौचालय नहुँदा मेचीनगरलाई खुला दिसामुक्त नगर घोषणा गर्न कठिन भएको उनको भनाइ थियो ।
नगरका १५ वटा वडामध्ये अब ६ वटा वडा वडा खुला दिसामुक्त घोषणा हुन बाँकी रहेको उनले जनाइन् । १ हजार ४ सय ८० घरधुरी भएको वडा नम्बर २ मा शतप्रतिशतले चर्पी प्रयोग गर्न थालेको वडाध्यक्ष तिलक न्यौपानेले बताए ।
कार्यक्रममा उपप्रमुख उप्रेती, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, नागरिक समाजका अध्यक्ष नीलकण्ठ तिवारी, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सहसचिव लालबहादुर गिरी, जिल्ला खानेपानी सरसफाइ स्वच्छता समिति झापाका फोकल पर्सन रुद्र न्यौपाने, नेकपाका यमप्रसाद ढुङ्गेललगायतले बोलेका थिए ।