झापा / सरकारी उदासीनताका कारण करोडौँ रुपैयाँको संरचना जीर्ण हुँदै गएको छ । झापाको मेचीनगर– ६ स्थित काँकरभिट्टामा वेइङ ब्रिज र कर्मचारी बस्नका लागि बनाइएको भवन सरकारी बेवास्ताका कारण जीर्ण बन्दै गएको छ ।
पूर्वी नाका हँुदै भित्रिने मालवाहक सवारी साधनको क्षमता मापनका लागि डिभिजन सडक कार्यालय दमकले निर्माण गरेको वेइङ ब्रिजले काम गर्न छाडेको छ । जसका कारण करोडौं रुपैयाँको राजस्व गुमिरहँदा पनि सरकारी निकाय त्यसप्रति बेखबर झैं छ । वेइङ ब्रिज सञ्चालन नहुँदा कर्मचारी समेत बस्न छाडेका छन् । कर्मचारी नबसेका कारण त्यसको उचित रेखदेख नहुँदा कर्मचारीका लागि बनाइएको भवनसहित करोडौँको संरचना खण्डहर भएको हो ।
भारतबाट आउने मालवाहक सवारी साधनको क्षमता मापनका लागि पूर्व पश्चिम राजमार्ग निर्माण भएकै बखत यो ब्रिज निर्माण गरिएको थियो । तर, लामो समयदेखि प्रयोगमा नआएका कारण भवन तथा वरपरका संरचनामा समेत खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेको स्थानीय व्यवसायी प्रमोद बानियाँ बताउँछन् ।
भवनमा भएका काठका झ्याल ढोका मक्किएर र सिसा फुटेर कामै नलाग्ने अवस्थामा छन् । भवन वरपर फोहोरमैला छ भने बटुवाहरुका लागि शौच गर्ने थलो पनि बनेको छ । भवनमा लगाइएको रङसमेत सबै उक्किइसकेको उनले बताए ।
सडक अतिक्रमण गरी बनाइएका सरकारी तथा निजी संरचना सडक विभागले केही वर्षअघि भत्काए पनि आफ्नै स्वामित्वमा रहेका यो संरचना नहटाएको भन्दै काँकरभिट्टावासीले विरोधसमेत गरेका थिए ।
एशियाली विकास बैंकको करिब १ अर्ब ५० करोड लगानीमा मेची नदीमा एशियाली हाइवेको फोर लेन सडकसँगै नयाँ पुल निर्माण हुने भएपछि यसको पनि व्यवस्थापन हुने सम्भावना रहेको कार्यालयका डिभिजन इञ्जिनियर राजेशकुमार यादवले जानकारी दिए ।