इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागु हुनेगरी घोषणा गरेको निषेधाज्ञाको समय सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले गत १५ गतेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठककमा १७ गते राति १२ बजेदेखि आगामी एक हप्ता अर्थात् वैशाख २४ गतेसम्म निषेधाज्ञा लागु गरेको हो । निषेधाज्ञा सुरु भएसँगै सुनसरीको इटहरीमा पनि यसको प्रभाव देखिएको छ । यातायातका साधन मात्र होइन, सामान्य आवातजावत गर्ने सर्वसाधारण पनि कमै मात्रामा सडकमा देखिएका छन् । सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएकाले यातायातका साधन पनि खासै गुडेको पाइएको छैन ।

लामो दूरीका अधिक यात्रुवाहक सवारी साधन, खाद्यान ढुवानी गर्ने सवारी साधन, तथा छोटो दूरीमा चल्ने इ–रिक्सा, अटो र म्याजिक पनि पातलै चलेका छन् । यस्तै, यस्ता सवारी साधनमा चढ्ने यात्रु तथा चालक–सहचालकले पनि मास्क अनिवार्य रुपमा प्रयोग गरेका छन् । डिसीसीएमसीको बैठकले होटल व्यवसाय बिहान ८ बजेदेखि बेलूका ८ बजेसम्म खोल्न दिने भनेपछि होटल भने सञ्चालन भएका छन् । यता, अन्य व्यवसाय भने पूर्वसूचना अनुसार नै बिहान ११ बजेसम्म मात्र खुलेका छन् ।





















