विराटनगरः प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कोदोको रक्सी ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजक रहेको कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ । कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मीना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईं, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पति अधिकृत राजेश तामाङ छन् ।
कार्यदलको सदस्य सचिवमा मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई छन् । कार्यदललाई सामाजिक विकास मन्त्री उषाकला राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयन गर्न सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको बताएकी छन् । कार्यदललाई ४५ दिन भित्रमा मन्त्रालयमा प्रतिवेदन पेस गर्ने समयसीमा दिइएको छ । -बाह्रखरीबाट