इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा आश्रित बालबालिका र ज्येष्ठ नागरिकलाई महिला आधारशीला सुनसरीले खाद्यान्न सामग्री वितरण गरेको छ ।
आश्रममा ४१ जना बालबालिका र तीन जना ज्येष्ठ नागरिक आश्रित रहेका छन् । सरकारीस्तरबाट कुनै पनि सहयोग उपलब्ध नभएको यो आश्रम परोपकारी दाताहरुको सहयोगमा चल्दै आएको छ । कोरोना महामारीका कारण दाताहरु आउने क्रम न्यून हुँदा आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकको व्यवस्थापनमा समस्या भइरहेकोमा महिला आधारशीला सुनसरी अन्तर्गतको सिर्जनशील महिला समूहले दाल, चामल, तरकारीजस्ता अत्यावश्यक खाद्य सामग्री वितरण गरेको समूहकी सदस्य शुशीला उप्रेतिले जानकारी दिइन् ।
उनका अनुसार सामाजिक कार्यमा सक्रिय सो समूहले कोरोना महामारीको संकटका बीच बालबालिका तथा ज्येष्ठ नागरिकलाई खाद्यान्नको अभावमा जीवनयापनमा कठिनाइ उत्पन्न हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै खाद्य सामग्री प्रदान गरेको हो ।