इटहरीः सुनसरीको धरानमा एक १७ वर्षीया बालिकासँग यौनजन्य कार्य गरिरहेको अवस्थामा हिजो साँझ पक्राउ परेका सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवमाथि बालिका बलात्कार अभियोगमा अनुसन्धान अगाडि बढाउन सुनसरी जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका अध्यक्ष यादवलाई अदालतमा पेस गरेपछि जिल्ला न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले पहिलो पटक पाँच दिनको म्याद उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार अभियुक्त यादवले लामो समयदेखि बालिकामाथि यौन शोषण गर्दै आएकोमा हिजो साँझ रङ्गेहात पक्राउ परेका हुन् । पीडित बालिकाले पनि यादवले आफूमाथि जबर्जस्ति करणी गरेको बयान दिएको बताउँदै प्रवक्ता कार्कीले बालिकाका अभिभावकको जाहेरी अनुसार बालिका बलात्कार अभियोगमा अनुसन्धान अगाडि बढाइएको बताए ।

यसैबीच, अभियुक्त यादव अध्यक्ष रहेको भोक्राहा नरसिंह गाउँपालिका उनी पक्राउ परेको भोलिपल्ट अर्थात् आजदेखि दुई दिनका लागि बन्द भएको छ । कर्मचारीमा कोरोना देखिएकाले दुई दिनका लागि कार्यालय बन्द गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।