इटहरीः एनआइसी एशिया बैंकले इटहरी उपमहानगरपालिकाभित्र एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । सेवाग्राहीको सुविधाको लागि उपमहानगरपालिकाभित्रै काउन्टर स्थापना गरिएको बैंकको इटहरी शाखाका प्रबन्धक विष्णुप्रसाद आचार्यले बताए ।
‘हामीले सेवाग्राहीको सुविधाको लागि उपमहानगरपालिकाभित्रै एक्सटेन्सन काउण्टर शुरु गरेका हौं’, आचार्यले भने, ‘सेवाग्राहीको सुविधाको लागि काउण्टर सञ्चालनमा ल्याए पनि अन्य शाखामा जस्तै खाता खोल्ने, चेक साट्ने र रकम जम्मा गर्ने सबै काम सो काउण्टरबाट हुनेछ ।’ ऋण लगानीसम्बन्धी काम मात्रै सो शाखाबाट नहुने उनले जनाए ।
नगरपालिकाभित्र एटिएमको व्यवस्था पनि चाँडै गरिने उनले जनाए । बुधबार सामान्य शुरुवात (सफ्ट ओपनिङ) गरिएको र औपचारिक उद्घाटन केही पछि हुने उनले जनाए ।
‘नगरवासीलाई सहज होस् भनेर हामीले नगरको चारैतर्फ शाखा खोलेका छौं,’ आचार्यले भने, ‘पूर्वमा बलियामा, पश्चिममा पचरुखीमा, उत्तरमा तरहरामा तथा इटहरी चोक र नगरपालिकाभित्र गरी ५ वटा शाखा सञ्चालनमा छन् ।’ उनका अनुसार खनारमा पनि शाखा स्थापनाको लागि प्रक्रिया चलिरहेको छ । इटहरीका ४ वटा शाखाका साथै हलगडास्थित यातायात कार्यालय र सशस्त्र प्रहरी बलको गेटमा गरी ६ वटा एटिएम मेसिन सञ्चालनमा रहेको उनले जानकारी दिए । नगरपालिकाभित्र एटिएम सञ्चालनमा आएपछि एटिएमको सङ्ख्या इटहरीभित्रै ७ वटा पुग्ने उनले जनाए । कोशी अञ्चलमा बैंकका ३० वटा र १ नम्बर प्रदेशमा ६० वटा शाखा सञ्चालनमा रहेको पनि उनले जनाए ।
शाखा सञ्चालनमा आएपछि सेवाग्राहीलाई र बैंकका कर्मचारीलाई पनि सहज हुने इटहरी उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख चुडामणि आँपागाईंले बताए ।
‘सेवाग्राहीले बुझाएको रकम कर्मचारीले बैंकमा लानुपथ्र्याे । अब त्यो असहजता अन्त्य भएको छ’, आँपागाईंले भने, ‘धेरै काम वडाबाटै हुने हुनाले धेरै राजस्व वडाबाटै सङ्कलन हुन्छ । नगरपालिकामा आउने दैनिक २ सय सेवाग्राहीबाट सङ्कलन हुने राजस्व रकम भने बैंकिङ प्रणालीमार्फत् जम्मा हुनेछ ।’