खोटाङः खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु भएको छ ।

जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता सुरु गरिएको हो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित माध्यमिक तहमा अध्ययनरत खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावोबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका खेलाडी मात्र सहभागी भएका हुन् । दश स्थानीय तह रहेको जिल्लाका केपिलासगढी, साकेला, जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका उक्त प्रतियोगितामा सहभागी भएका छैनन् ।

साकेला गाउँपालिकामा भएको गाउँपालिकास्थरीय छनोट प्रतियोगितामा सहभागीबीच झडप भएपछि गाउँपालिकास्तरीय प्रतियोगिता नै स्थगित गरिएको छ । जिल्लाका अन्य स्थानीय तहले भने पर्याप्त बजेट नभएका कारण देखाउँदै जिल्लास्तरीय प्रतियोगितामा सहभागिता नजनाएको आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङको भनाइ छ । जिल्लास्तरीय प्रतियोगितामा छात्रछात्रा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथलेटिक्स गरी पाँच विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख लीलाभक्त केसीले बताए । जिल्लास्तरीय प्रतियोगिताअन्तर्गत सबै विधाका उत्कृष्ट ८४ खेलाडी छनोट गरेर प्रदेश नं १ को राजधानी विराटनगरमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जनाइएको छ । -रासस