इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीका नाममा शुभकामना दिएका छन् ।

मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा अस्थिरतामा आफ्नो भविष्य देख्नेहरुले देशलाई पुरानै बाटोमा फर्काउन खोजेपनि आफूहरु समृद्धितर्फको यात्रालाई अगाडि बढाउने र देशलाई आत्मनिर्भर बनाउने जिम्मेवारीबाट आफूहरु पछि नहट्ने उल्लेख छ ।

कोरोना भाइरसको महामारीविरुद्ध हालसम्म लडाईँ जारी नै रहेकाले स्वास्थ्य सावधानी अपनाउनुपर्नेतर्फ पनि शुभकामना सन्देशमार्फत् मुख्यमन्त्री राईले सर्वसाधारणलाई सचेत गराएका छन् ।