इटहरीः सुनसरीको धरानमा आगामी वैशाख ४ गतेदेखि ‘छैठौँ वराह मेमोरियल अमेच्योर खुल्ला गल्फ प्रतियोगिता’ हुने भएको छ ।

स्वर्गीय इन्द्रकुमार विश्वकर्मा लामिछानेको स्मृतिमा छैठौँ वर्षको खेल आयोजना गर्न लागिएको आयोजक धरान गल्फ क्लबले सोमबार एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । वराह ग्रुपको प्रायोजनमा हुने सो खेलमा कोरोना महामारीले गत वर्ष प्रभावित भएको र सोही सँस्करणलाई यो वर्ष पनि निरन्तरता दिइएको आयोजकले जानकारी दिएको छ । इन्द्रबहादुर विश्वकर्माको स्मृतिमा हुने सो प्रतियोगितालाई १५ वर्षसम्म प्रायोजन गर्ने सम्झौता अनुसार यो वर्ष पनि प्रायोजन गरिएको वराह ग्रुपले जानकारी दिएको छ ।

1 (5)

प्रदेश १ का तीन जना महिलासहित ४३ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुने अधिकांश खेलाडीहरु धरानको रहेको र पोखरा तथा काठमाडौँका खेलाडीहरुलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको क्लबका कोषाध्यक्ष राजु राईले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा एक लाख ८८ हजार खर्च हुने अनुमान गरिएको छ । जसमध्ये वराह ग्रुपले एक लाख ५० हजार र बाँकी आयोजकले व्यवस्था गर्ने राईको भनाइ छ ।