विराटनगरः शिक्षा, प्रविधि, खोज र अनुसन्धान क्षेत्रमा सूचना प्रविधिको योगदानको बारेमा ज्ञान दिने उद्देश्यसहित विराटनगरमा ४ दिने ‘आइसिटी एक्स्पो–२०१८’ आयोजना हुने भएको छ ।
विराटनगरलाई सूचना प्रविधिको गन्तव्य बनाउने उद्देश्यसहित पहिलो पटक ‘आइसिटी एक्स्पो’ आयोजना गर्ने तयारी थालिएको हो । लिभिङ विथ आइसिटीले आयोजना गर्ने एक्स्पो आगामी पुस ६ गतेदेखि १० गतेसम्म हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जनाए । विराटनगरमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पोमा एक सय स्टलहरू राखिने अध्यक्ष लम्सालले जनाए ।
एक्स्पोमा सूचना प्रविधिको क्षेत्रका पछिल्ला आविष्कारहरू, उत्पादन र सेवाहरूको प्रदर्शनी गरिने भएको छ । प्रविधि शिक्षा, ज्ञान, आविष्कार र उद्यमशीलतासँग सम्बन्धित ज्ञान, सीप र सामग्रीको एउटै केन्द्रमा प्रदर्शनी गरिने अध्यक्ष लम्सालले जनाए । प्रदेश १ भित्र सूचना प्रविधिमा कार्यरत कम्पनी, उच्च माध्यमिक विद्यालय तथा क्याम्पस र संस्थासहित अन्तर्राष्ट्रिय उत्पादन र ब्राण्डलाई प्रदर्शनीमा राखिने बताइएको छ ।
एक्स्पोमा ५० प्रतिशत व्यावसायिक, आइटी, उत्पादन तथा सेवा र ५० प्रतिशत शिक्षा, आविष्कारजस्ता क्षेत्रको स्टल रहने संयोजक पर्वतराज झाले बताए । संयोजक झाका अनुसार व्यावसायिक स्टलहरूमा स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरूसँगै सफ्टवेयर, एप्लिकेसनहरू रहनेछन् । नयाँ प्रविधिहरूको विशेष प्रदर्शनी हुने भनिएको एक्स्पोमा स्थानीय आइटी स्टार्टअप तथा उद्यमशीलता प्रबद्र्धनका लागि ५ वटा स्टल निःशुल्क उपलब्ध गराइने बताइएको छ ।
विराटनगरस्थित जैन भवनको प्राङ्गणमा आयोजना गरिने एक्स्पोलाई १ लाख दर्शकले अवलोकन गर्ने दाबी गरिएको छ ।