इटहरीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधवकुमार नेपाल समूहले मोरङ जिल्लामा समानान्तर कमिटी विस्तार गरेको छ ।
विस्तारित कमिटीको अध्यक्षमा चन्द्रवीर राई चयन भएका छन् । यसैगरी, कमिटीका उपाध्यक्षमा भक्ति राई र उद्धव पोख्रेल चयन भएका छन् । कमिटीका सचिव राजन केसी रहँदा सहसचिवको जिम्मेवारी वसिम आलम र निलम ढुङ्गेलले पाएका छन् । विश्वनाथ रायलाई कोषाध्यक्षको भूमिकामा राखिएको छ । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन हुन गई नेकपा माओवादी केन्द्र र नेकपा एमालेले स्वतन्त्र अस्तित्व ग्रहण गरी एकीकरणअघिको अवस्थामा पुगेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुबीच शक्ति संघर्ष चलिरहेको छ ।
दुवै पक्षले अर्को पक्षलाई कारबाही गर्ने लहरका कारण गृहमन्त्री रामबहादुर थापा (बादल), माधवकुमार नेपाललगायतका नेताहरु निलम्बनमा समेत परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटनको निर्णयविरुद्ध प्रचण्ड र माधव नेपालले दर्ता गराएको निवेदनमा पुनरावलोकन हुन नसक्ने फैसला सर्वोच्च अदालतले गरेपछि समानान्तर कमिटी गठनको सिलसिला तिव्र बनेको हो ।