इटहरीः नेपाल पत्रकार महासंघ सुनसरीको बुधबार सम्पन्न निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी नेपाल माधव नेपाल समूहको संयुक्त गठबन्धन लगभग सबै पदमा विजयी भएको छ ।
महासंघको सुनसरी अध्यक्षका रुपमा गठबन्धनका तर्फबाट जनकऋषि राई सर्वाधिक एक सय २३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी नेपाल केपी ओली पक्षका उम्मेदवार सन्तोष काफ्लेले ६५ मत प्राप्त गरे । अर्का प्रतिद्वन्द्वी नेपाल प्रेस युनियनका सचिन पोख्रेलले ४५ र प्रेस युनियनकै सुविद गुरागाईँले १० मत प्राप्त गरे । अध्यक्ष राई र निकटतम प्रतिद्वन्द्वी काफ्लेबीच ५८ मतको अन्तर छ । यसैगरी, उपाध्यक्षमा पनि गठबन्धनकै उमेद्वार गणेश निरौला विजयी भएका छन् । निरौलाले एक सय ४२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ९८ मत प्राप्त गरेका थिए । यसैगरी, महिला उपाध्यक्षमा पनि गठबन्धनकै उमेद्वार उषाकिरण भट्टराई विजय भइन् । भट्टराई एक सय मत ल्याई विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेद्वार मनिता चाम्लिङले ५३ मत प्राप्त गरिन् । अर्की प्रतिद्वन्द्वी प्रेस चौतारी नेपाल केपी शर्मा ओली पक्षकी उमेद्वार सुमित्रा राई सञ्जुले ४५ र नेपाल प्रेस युनियनकी उमेद्वार रञ्जना पौडेलले ४३ मत प्राप्त गरिन्
। यसैगरी, सचिवमा पनि गठबन्धनकै तर्फबाट ध्रुव ढकाल विजयी भए । ढकालले एक सय ४८ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी नेपाल केपी ओली पक्षका दिनेश गजमेरले ६४ र अर्का प्रतिद्वन्द्वी स्वतन्त्र उमेद्वार भरतराज शर्मा गोपाल कामतले ३१ मत प्राप्त गरे । यसैगरी, सहसचिवमा गठबन्धनका तिर्थ कार्की र प्रेस चौतारी नेपाल केपी ओली पक्षका विवेश रेग्मी समान एक सय १५ मत ल्याई विजयी भएका छन् । दुई उमेद्वारले समान मत प्राप्त गरेपछि कार्कीले दुई वर्ष र रेग्मीले एक वर्ष कार्यभार सम्हाल्ने सहमति भएको छ । यसैगरी, यसैगरी, समावेसी सचिवमा प्रेस चौतारी नेपाल केपी ओली पक्षका उमेदवार प्रदीपकुमार चौधरीलाई पराजित गर्दै गठबन्धनका भोला श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठ एक सय ४२ मत ल्याई विजयी हुँदा उनका प्रतिद्वन्द्वी चौधरीले ८९ मत पाएका छन् । यसैगरी, कोषाध्यक्ष पद पनि संयुक्त गठबन्धनकै पोल्टामा परेको छ । गठबन्धनका उमेद्वार अजितकुमार झा एक सय ३१ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी नेपाल केपी ओली पक्षका कृष्णप्रसाद बहाव भट्टराईले ६४ र अर्का प्रतिद्वन्द्वी नेपाल प्रेस युनियनका निशानप्रकृति थारुले ४४ मत पाएका छन् । खुला सदस्यतर्फ पनि गठबन्धनले नै बाजी मारेको छ । विजयी हुने सबै खुला सदस्यहरु विवेक रेग्मी, निश्चल शर्मा, आरबी कट्वाल, वीरेन्द्र साह, संगम बिष्ट, शान्ता निरौला, दीपेन्द्र यादव, सुस्मिता राई र शुक्रान्त राई गठबन्धनमै आबद्ध उमेद्वार हुन् । यसैगरी, महिला सदस्यमा गठबन्धनकै देविका चाम्लिङ, दलित सदस्यमा पनि गठबन्धनकै सुविन विश्वकर्मा, जनजाति सदस्यमा पनि गठबन्धनकै पारस राई र अल्पसंख्यक सदस्यमा पनि गठबन्धनकै मिकाइल आलम निर्वाचित भएका छन् । यसैगरी, खुला केन्द्रीय परिषद् सदस्यमा पनि गठबन्धनकै उमेद्वारहरु भैरव आङ्ला, बाबुराम सुवेदी र गोपाल दाहालको समूह पुगेको छ । यसैगरी, समावेसी केन्द्रीय परिषद् सदस्यमा नरबहादुर लिम्बू (प्रदीप म्यायाङ्बो) र शुकदेव चौधरी तथा महिला केन्द्रीय परिषद् सदस्यमा गंगा बराल चयन भएका छन् ।
बरालको एकल उमेद्वारी परेकोमा उनी निर्विरोध निर्वाचित भएकी हुन् । यसैगरी, खुला प्रदेश परिषद् सदस्यमा विजयी हुने उमेद्वारहरुमा योगेशबाबु काफ्ले, गोविन्द बस्नेत, अर्जुन सुवेदी, गवनसिंह चौधरी, चन्दन गुप्ता, पीएमणि भट्टराई, बाबुराम कार्की, हिमाल दहाल र सुनिल चौधरी रहेका छन् । महिला प्रदेश परिषद् सदस्यमा कानून कार्की निर्विरोध निर्वाचित भइसकेकी छन् । प्रदेश परिषद् सदस्य समावेसीतर्फ निर्वाचित हुने अनवर हुसेन अन्सारी, आशीष यादव, कुलदीप चौधरी, विकास चाम्लिङ, धीरेन्द्र चौधरी र सोहन श्रेष्ठ पनि संयुक्त गठबन्धनकै उमेदवार हुन् । यसैगरी, प्रदेश १ बाट केन्द्रीय सदस्यका रुपमा नेपाल प्रेस युनियनका अमर खड्का निर्वाचित भएका छन् ।