विराटनगरः प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले बताए ।

सोमबार अविश्वास प्रस्ताव फिर्ता भएको हो । अविश्वासको प्रस्तावको समर्थक एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारप्रतिको अविश्वासको प्रस्ताव फिर्ता लिए पनि राजनीतिक क्रान्तिको अध्याय समाप्त नभएको बताए । अविश्वासको प्रस्तावको समर्थकको तर्फबाट राजेन्द्रकुमार राईले नयाँ राजनीतिक स्थिति परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए । प्रस्ताव र समर्थक दुवै जनाले सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसकेको, बजेट पारित भएसँगै खर्च कटौती गरेको, नयाँ योजना नल्याएको र पुरानै योजनाको भुक्तानी गर्न नसकेको प्रति सरकारको आलोचना गरेका थिए ।

सदनमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार काम गर्न नसकेको भन्दै सांसद कोष रकम कुनै पनि हालतमा काट्न नहुने बताए । उनले सरकारलाई खर्चमा मितव्ययीता अपनाउन र जनताप्रति उत्तरदायी बन्नुपर्ने भन्दै ‘जुगा चल्यो, कुरा बुझ्यो’ मानसिकतालाई सरकारले त्याग्नुपर्नेमा जोड दिए । प्रदेशसभाको अर्को बैठक यही चैत २६ गते २ बजे बस्नेछ । -रासस