इटहरीः आज अर्थात् शनिबार बिहानै मधु रिमाल (हृदयघातका कारण मृत्यु भएका) पूर्वमन्त्री रामकुमार सुब्बाको घर पुगेका थिए ।
बिहानै सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ मा एक कार्यक्रममा सहभागी हुनको लागि सुब्बालाई उठाउन उनी सुब्बाकै निवासमा पुगेका थिए । बाल्यकालदेखिकै अनन्य मित्रका रुपमा रहेका मधु र रामकुमारसँगै सो कार्यक्रममा गए । उनीहरुले भव्यताका साथ सो कार्यक्रमा सहभागिता जनाएका थिए । बिहानै दुवै मित्र बसेर अन्य दुई कार्यक्रममा (इटहरीमा रहेको प्रणामी मन्दिरको कार्यक्रम र रा.प्र.पा नेपालको वडास्तरीय कार्यक्रम) जाने योजना पनि बनाएका थिए । बच्चादेखिकै साथी उनीहरु प्राय सँगै हुन्थे । चाहे पार्टीको कार्यक्रम होस् या कुनै साँस्कृतिक कार्यक्रम नै किन नहोस् । बिहान उनीहरुले सुन्दरहरैँचामा भएको कार्यक्रम अन्त्यसम्म नै नियाले । यति मात्र होइन, उनीहरुले त्यहीँ बसेर खाजा खाए । खाजा खाँदै गर्दा रामकुमार सुब्बाको अगाडि एक जना मान्छे अचेत अवस्थामा पल्टियो । को रहेछ भन्दै उनले ती मान्छेलाई उठाउँदा त ती मान्छे अरु कोही नभएर उनकै बाल्यकालदेखि कलाकारिता र राजनीतिमा सारथी बनेका मधु रिमाल रहेछन् । यसरी आफ्नै साथी रहेको थाहा पाएपछि सुब्बाले उठाएर मधुलाई पानी छम्किएर होसमा ल्याएको बताउँछन् । होसमा आएपछि मधुले ‘यो गर्मीले गर्दा मलाई यस्तो भएको हो’ भन्दै रामकुमार सब्बालाई भनेको सुब्बाले बताए ।
उनको त्यही बोली नै यो संसारमा अन्तिम वाणीको रुपमा रह्यो । त्यसपछि उनी फेरि बेहोस भए । पुनः बेहोस् भएपछि सुब्बाले उनलाई आफ्नै गाडीमा हालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पुर्याए । करिब बिहानको ११ बजे सुन्दरहरैँचाको ४ नम्बर वडामा बेहोस भएका मधुलाई आधा घण्टामा नै घोपा पुर्याइएको थियो । तर, पनि उनलाई बचाउन सकिएन । उनलाई त्यहाँ पुर्याउनेबित्तिकै डाक्टरले मृत्यु भएको पुष्टि गरेको सुब्बा बताउँछन् । यसले आफ्नो अनन्य मित्र मात्र नभएर यो समाजले नै असल पात्र गुमाएको उनको उनको भनाइ छ । ‘बिहानदेखि नै हामी सँगै थियौँ । कार्यक्रम अवधिभर उसलाई केही भएन । कार्यक्रम सकिएपछि उसलाई त्यस्तो भयो । उसले मर्दा पनि कसैलाई क्षति पुर्याएन । यसरी हेर्दा उ धर्मात्मा रैछ भन्ने पुष्टि भएजस्तो लाग्छ मलाई’, सुब्बाले भने । मधु र रामकुमारले आफ्नो जीवनकालका हरेक क्षण बिताएका थिए । राजनीति, समाजसेवामा पनि उनीहरु दुवै एकै ठाउँ हुन्थे । ‘उसले (मधु) र मैले (रामकुमार)ले यो क्षेत्रमा प्रत्येक वर्षको विजयादशमीमा आयोजना हुने कार्यक्रममा जोडी भएर आउँथ्यौँ’, सुब्बाले भने, ‘हामी हास्य प्रस्तुत गथ्र्यौँ जाडीको रुपमा ।’ यसका साथै आफूभन्दा साहित्य क्षेत्रमा मधु पोख्त रहेको सुब्बा बताउँछन् ।
पूर्वी नेपालमा साहित्यको विकास नहुँदै बनारससम्म गएर मधुले पुस्तक तथा लेख प्रकाशन गर्ने गरेको सुब्बाको भनाइ छ । ‘साहित्यतर्फ पनि यहाँ प्रेस नभएको समयमा बनारस गएर पत्रपत्रिका छपाएर ल्याउने काम उसले गरेको थियो । यसका साथै इटहरीको साहित्य प्रतिष्ठानमा पनि उसको योगदान अतुलनीय छ’ सुब्बाले भने । सामाजिक रुपमा पनि मधुले उल्लेख्य योगदान गरेको सुब्बा बताउँछन् । उनको मृत्युले इटहरीले एक कुसल सामाजिक, राजनैतीक तथा कलाकर्मी गुमाएको सुब्बाको भनाइ छ । सुब्बाका अनुसार मधुले इटहरीका कम्युनिष्ट नेता रमेश बिष्टसँगै कम्युनिष्ट धारको राजनीति गरेका थिए । झापा आन्दोलनमा पनि मधुको योगदान रहेको सुब्बा स्मरण गर्दछन् । यसैगरी, इटहरी क्षेत्रमा विद्यार्थी आन्दोलनको अगुवाइ पनि मधुले गरेको सुब्बाको कथन छ ।