इटहरीः नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि प्रदेश १ स्तरीय कार्यसमितिको विभिन्न २१ पदमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश १ को अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ जसमा प्रेस चौतारी नेपालको केपी शर्मा ओली पक्षका मोहन काजी, प्रेस युनियनका लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेली प्रतिस्पर्धामा रहेका छन् । सुसेली हालको प्रादेशिक कार्यसमितिका उपाध्यक्षसमेत हुन् । यसैगरी, महासंघको प्रदेश १ कार्यसमितिको उपाध्यक्ष पदमा खुलातर्फबाट तीन जनाको उम्मेदवारी परेको छ । प्रेस सेन्टरका तर्फबाट अर्जुन जम्मेली, प्रेस चौतारी नेपालको केपी ओली पक्षबाट रोहितकुमार राई र प्रेस युनियनका तर्फबाट लवदेव ढुङ्गाना महासंघको उपाध्यक्ष पदका लागि खुला प्रतिस्पर्धामा रहेका छन् । यसैगरी, उपाध्यक्ष पदकै लागि महिला कोटामा प्रेस चौतारी नेपालसम्बद्ध कोकिला ढकाल र प्रेस युनियनसम्बद्ध हिमाकुमारी चेम्जोङको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, महासंघको महासचिव पदका लागि प्रेस चौतारी नेपालको केपी ओली पक्षका फिफराज बेघा लिम्बू, प्रेस चौतारी नेपालकै माधवकुमार नेपाल पक्षका बन्धु पोख्रेल, प्रेस सेन्टरका तर्फबाट विवेक गौतम र प्रेस सेन्टरकै तर्फबाट बागी उम्मेदवारका रुपमा श्री शिशा राई गरी चार जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी, महासंघको सचिव पदका लागि खुलातर्फ चार जनाको उम्मेदवारी दर्ता भएको छ । सचिव पदका उम्मेदवारहरुमा प्रेस चौतारी नेपालको केपी ओली पक्षका अविजाल बिष्ट, प्रेस युनियनका कौशल निरौला, प्रेस चौतारी नेपालको माधवकुमार नेपाल पक्षका देवेन्द्र कार्की र प्रेस सेन्टरका भक्तशेर लिम्बू रहेका छन् । यसैगरी, सचिव पदको समावेशी कोटामा प्रेस चौतारी नेपाल केपी ओली पक्षका सन्तवीर लामा र प्रेस युनियनका सन्तोष यादवको उम्मेदवारी परेको छ ।

यसैगरी, कोषाध्यक्षको पदमा तीन जनाको उम्मेदवारी परेको छ । प्रेस चौतारी नेपालको माधवकुमार नेपाल पक्षका गणेश साम्पाङ, प्रेस सेन्टरका बिमल लामिछाने र प्रेस युनियनका सन्तोष रुचाल कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । यसैगरी, महासंघको प्रदेश कमिटिको सदस्य पदमा खुला तर्फबाट १४ जनाको उम्मेदवारी परेको छ । सदस्यका प्रत्यासीहरुमा कमल रिमाल, केशरबहादुर चौहान, केशव भट्टराई, गोपालप्रसाद पोख्रेल, टिकाराम उप्रेति, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मीनराज उप्रेति, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाई र सुरेन्द्र भण्डारी रहेका छन् । १४ प्रतिस्पर्धीमध्ये पाँच जना सदस्य पदमा निर्वाचित हुनेछन् ।

यसैगरी, महासंघको महिला सदस्य पदका लागि सात जनाले उम्मेदवारी दिएका छन् । महिला सदस्य पदका उम्मेदवारहरुमा देविका चाम्लिङ राई, विनादेवी तामाङ, विनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र शुशीला पाठक रहेका छन् । सात जनामध्ये तीन जना उम्मेदवार महिला सदस्यका रुपमा निर्वाचित हुनेछन् । यसैगरी, पीबी दियाली र रणध्वज लोहारले दलित सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, आदिवासी जनजाति सदस्य पदका लागि उपेन्द्र चाम्लिङ, दिलकुमार लावति, विष्णु सुब्बा र यमनकुमार दनुवारको उम्मेदवारी दर्ता भएको छ । निर्वाचनबाट दुई जना जनजाति सदस्य निर्वाचित हुनेछन् । यसैगरी, महासंघको निर्वाचनमा दुई जना मधेसी सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । मधेसी सदस्य पदका प्रत्यासीहरुमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फूलचन्द मेहता, ब्रम्हदेव यादव र सूर्यनारायण यादव रहेका छन् ।

यसैगरी, तावील अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालले अल्पसंख्यक सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेश निर्वाचन समितिले उम्मेदवारहरुको नामावली प्रकाशन गरेको हो । यज्ञप्रसाद शर्माको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा राजेन्द्र किराँती र कविता बस्नेत रहेका छन् ।