झापाः १ साता अघिदेखि आन्दोलनरत नेपाल चिया विकास निगम लिमिटेडअन्तर्गत झापाको मेचीनगरस्थित टोकला चिया बगानमा कार्यरत मजदुरहरू आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै काममा फर्किएका छन् ।
बगान व्यवस्थापन पक्षले श्रम ऐन २०७४ कार्यान्वयन नगरेको, ऐनले व्यवस्था गरेको दशैं बोनस नदिएको तथा राजपत्रमा उल्लेख भए अनुसार मजदुरलाई पारिश्रमिक नदिएको भन्दै मजदुरहरू आन्दोलित थिए ।
पहिलो चरणको आन्दोलनबाट आफ्ना मागको बारेमा सुनुवाइ नभए आइताबरदेखि कडा रूपमा आन्दोलनका थप कार्यक्रम लिएर सडकसम्म पुग्ने ५ दिनको अल्टिमेटम यसअघि मजदुरले दिएका थिए । तर, बगान व्यवस्थापन पक्षले मागको सम्बोधन गरेका कारण आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरी काममा फर्किएको अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय सचिव तिलक दर्जीले जानकारी दिए ।
उनका अनुसार श्रम ऐन २०७४ ले प्रत्येक मजदुरलाई दशैैं खर्चका रूपमा १ महिनाको तलब बराबरको रकम दिने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताइएको छ ।
बगानमा १ सय ९५ महिलासहित जम्मा २ सय ६१ जना स्थायी मजदुर तथा अन्य मौसमी मजदुरहरू रहेका छन् ।