विराटनगरः प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबाट नेकपा (माओवादी केन्द्र) पछि हटेको छ ।
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बद्लिएको राजनीतिक परिवेशसँगै आफूहरुले अविश्वास प्रस्तावबाट तत्काललाई हात झिकेको जानकारी दिएका छन् । मंगलबार नेकपा एमालेको खनाल–नेपाल समूहका १६ जना सांसदले संयुक्त रुपमा प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराई अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका थिए । अविश्वास प्रस्तावको प्रस्तावक रहेका नेता आङ्बोले भने, “नेकपामा रहेकै अवस्थामा एउटा राजनीतिक परिवेशबीच हामीले पार्टीको तर्फबाट अविश्वास प्रस्ताव दर्ता गरेका थियौँ । तर, सर्वोच्च अदालतको फैसलापछि एमाले र नेकपा अलग–अलग भएपछि हामीले पनि सरकारलाई दिएको समर्थन र अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेका छौँ ।” पूर्वआर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका आङ्बोले चैत २३ गते प्रदेशसभाको बैठक बोलाइएको र नयाँ बद्लिएको राजनीतिक परिवेशलाई हेरेर अघि बढ्ने बताए ।
माओवादी केन्द्र अब प्रतिपक्षी दलको भूमिकामा रहने उनले सुनाए । अघिल्लो साता एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको बैठक डाकेका थिए । दलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने आफ्ना सांसदलाई लिखित स्पष्टीकरण लिने जनाउ दिएपछि खनाल–नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिन सहमति जनाएका थिए । सांसद राजेन्द्रकुमार राईले सर्वोच्चको फैसलापछि आफूहरुले बद्लिएको परिस्थितिसँगै अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय लिएको बताएका छन् । मुख्यमन्त्री राईविरुद्ध गएको पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भई प्रदेशसभामा पेस भएको थियो । अविश्वास प्रस्ताव पेस भएसँगै मुख्यमन्त्री पक्षका सांसदले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । त्यसपछि लगातार सूचना टाँस गरी लगातार बैठक स्थगन गरिएको थियो । एमालेका सांसदहरु भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, जीवन घिमिरे, लछुमन तिवारी, उपेन्द्रप्रसाद घिमिरे, गणेशकुमार काङबाङ, तुलसीप्रसाद न्यौपाने, लीलाबल्भव अधिकारी, खिनु लाङवा (लिम्बु), पदमकुमारी गुरूङ, सरिता थापा, सुनिताकुमारी चौधरी, होमकुमारी साँवा, यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी र सावित्रा जोशीले राईविरुद्धको अविश्वास प्रस्तावमा आफ्नो समर्थन फिर्ता भएको जनाउँदै प्रदेशसभामा निवेदन दर्ता गराएका छन् ।
कुल ९३ सदस्यीय प्रदेश–१ को प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ जना सांसदहरु छन् । एमालेका २१ जना र माओवादी केन्द्रका १६ गरी ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध विश्वास नरहेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तीमध्ये ६ जनाले यसअघि नै फिर्ता गरेर राईलाई समर्थन गरेका थिए । माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङ माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् । उनलाई आर्थिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले ‘सहज ढंगले सामना गर्ने’ प्रतिक्रिया दिएका थिए । -बाह्रखरीबाट