पाँचथरः भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आयोगले तिव्र गतिमा काम गरिरहेको बताएका छन् ।
उनले आगामी डेढ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउने दाबी गरे । ‘आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउन तयारीसहित आयोग सक्रिय रूपमा लागेको छ,’ उनले भने । आयोग र स्थानीय तहसँग शनिबार भएको अन्तक्र्रियामा उनले भूमिहीनभन्दा अव्यवस्थित बसोबासीको सङ्ख्या ठूलो रहेकाले जग्गा उपलब्ध गराउनेसम्मको प्रक्रियाका लागि करिब डेढ वर्षको समय लाग्ने जानकारी दिए । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सङ्ख्या करिब १३ लाखको अनुमान गरिएकोमा करिब २१ लाख घर परिवार पुग्ने प्रारम्भिक तथ्याङ्क देखिएको उनले बताए ।
हिलिहाङ गाउँपालिकामा आयोगसँगको सहकार्यमा काम सुरु गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बूका अनुसार तीन सय ९६ जनाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमा निवेदन दिएका छन् । अन्तक्र्रियामा यहाँका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको सहाभागिता रहको थियो । सहभागीहरूले जग्गाका विविध विषयम सरोकारवालासँग जिज्ञासा राखेका थिए । -रासस