इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

जीपी फाउन्डेसन प्रदेश १ खेलकुद विभागको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा उर्लाबारी नगरपालिकामाथि २–० को जित निकाल्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो । धरानको जितमा एन्सन राई र मिलन लिम्बूले एक एक गोल गरे । राईले खेलको ५१ आँै मिनेटमा गोल गरे भने लिम्बूले खेलको ८३ औँ मिनेटमा गोल गरे । उक्त खेलको म्यान अफ द म्याच धरानका एन्सन राई घोषित भए । भोलि शनिबारको खेल सुनसरीको इनरुवा नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच हुने आयोजक समितिका अध्यक्ष सुर्य राइले जानकारी दिए ।

इटहरीस्थित क्षेत्रीय रंगशालामा जारी प्रतियोगितामा प्रदेश १ का आठ वटा नगरपालिकाका टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले २ लाख र उपविजेतालाई १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । चैत २१ गतेसम्म चल्ने प्रतियोगितामा २५ लाख अनुमानित खर्च हुने बताइएको छ । प्रतियोगिताको बिहीबार नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक रुपमा उद्घाटन गरेपनि बिहीबारको खेल समय अभावका कारण स्थगित भएपछि प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो ।