इटहरीः कोरोना महामारीको संक्रमण बढेको भन्दै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन तथा जमघटजन्य गतिविधि नगर्न अनुरोध गर्दै केही दिनअघि जारी गरेको विज्ञप्तिका आधारमा मोरङ जिल्ला प्रशासनले सार्वजनिक रुपमा समुदायमा होली नखेल्न जारी गरेको सूचना प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अटेर गरेका छन् ।

holi4.

 

जिल्लास्तरीय सुरक्षा समितिको हिजो मंगलबार बसेको बैठकले गरेको निर्णय अनुसार समुदायमा होली नमनाउन जिल्ला प्रशासन कार्यालयले गरेको अपिललाई लत्याउँदै मुख्यमन्त्री राई उद्योग संगठन मोरङले आयोजना गरेको सार्वजनिक होली कार्यक्रममा सहभागी भई होली खेलेका हुन् । प्रशासनले आज दिनभर सतर्कताका लागि गरेको माइकिङ समेतको कुनै पर्वाह नगरी मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षाका कुनै मापदण्ड पालना नगरी होली खेलेका हुन् । होली खेल्न ठूलो संख्यामा उपस्थित सर्वसाधारण तथा व्यवसायीहरुका साथ होली खेलेका मुख्यमन्त्री राईले कार्यक्रमस्थलमा मास्कसमेत प्रयोग नगरेको पाइएको छ । कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलन नदिन यसवर्ष समुदायमा होली खेल्न रोक लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
cm holi2.

जमघट र भीडभाड गरेर समुदायमा होली खेल्दा कोरोना सङ्क्रमण थप फैलने तथा त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने जोखिम बढेपछि होलीका सन्दर्भमा कडा निर्णय लिनु परेको उनको भनाइ छ । उनका अनुसार भेला जम्मा भएर होली पर्व मनाउन रोक लगाउन र भीडभाड नगरिकन पारिवारिक रुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै होली खेल्ने वातावरण बनाउन गृह तथा स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पनि गरेको छ । परिपत्र अनुसार नै कडाई गर्ने निर्णय बैठकमा भएको जानकारी प्रजिअ निरौलाले दिए । प्रदेश १ का प्रदेशप्रमुख सोमनाथ अधिकारी (प्यासी) ले कोरोना महामारीका कारण होली पर्वका अवसरमा आयोजना हुने सार्वजनिक होलीमिलन समारोह रद्द गरेको पृष्ठभूमिमा मुख्यमन्त्री राई भने होली खेल्न समुदायमै पुगेका हुन् । मुख्यमन्त्रीले नै सार्वजनिक सूचनाको उल्लङ्घन गर्दै होली खेलेकोमा सरोकारवालाले यस्ता कार्यले गलत नजीर स्थापित हुने टिप्पणी गरेका छन् ।

cm holi3