विराटनगरः पूँजीगत बजेट न्यून विनियोजन हुँदा हुलाकी राजमार्ग निर्माण सुस्त देखिएको छ । सप्तरी, सुनसरी, मोरङ र झापा जिल्लामा सडक निर्माणको काम सुस्त देखिएको हो ।

हुलाकी सडक आयोजना इटहरीका प्रमुख विजयकुमार महतोका अनुसार ४ जिल्लालाई जोड्ने सडक निर्माणका लागि वर्षेनी न्यून बजेट विनियोजन हुने गरेको छ । ४ जिल्लामा मुख्य र सहायक गरी २ सय २५ किलोमिटर दूरीको सडकसँगै सडकखण्डभित्र पर्ने पुल निर्माण गर्नुपर्नेछ ।

सप्तरीको राजविराज, मोरङको विराटनगर हुँदै झापाको भद्रपुरसम्मको सडक संरचनाको काम हुलाकी सडक आयोजना इटहरी कार्यालयले हेर्दै आएको छ ।

आयोजना प्रमुख महतोका अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि चार कार्यालयबाट खर्च गर्ने गरी ५ अर्ब रुपैयाँ बजेट निकासा भएको थियो । बाँडफाँडमा इटहरी कार्यालयका लागि ३८ करोड रुपैयाँ मात्रै रकम निकासा भएको हो । गत आर्थिक वर्षमा ५३ करोड रुपैयाँ निकासा भएको प्रमुख महतोले जानकारी दिए ।

हुलाकी राजमार्गअन्तर्गत झापामा ४८, मोरङमा ४८, सुनसरीमा ३० र सप्तरीमा ३२ किलोमिटर दुरीको मुख्य राजमार्ग र राजमार्ग भित्र पर्ने पुल निर्माण गर्नुपर्ने हुन्छ । सहायक सडकको रूपमा झापाको चारआली–केचना ४० किलोमिटर, मोरङको कानेपोखरी–रंगेली २५ किलोमिटर र सप्तरीको कल्याणपुर–बर्साइन हुँदै ब्रह्मपर्ती १८ किलोमिटर दुरीमा सडक निर्माण गर्नुपर्नेछ ।

हुलाकी सडक र सो सडकखण्ड भित्र पर्ने ३० वटा पुल ठेक्का प्रक्रियाबाट निर्माण भइरहेको महतोले जानकारी दिए । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा ठेक्कामार्फत् निर्माणको जिम्मेवारी लिएका कम्पनीले काम गरिरहे पनि बजेट अभाव हुने गरेको महतोको भनाइ छ । महतोका अनुसार गत आ.व.को बजेटबाट सप्तरीमा साना, ठूला १५ पुल निर्माण चरणमै छन् । झापाको मेची नदीमा ३३ करोड रुपैैयाँको लागतमा पुल निर्माणको काम समेत चलिरहेको छ । झापाको चारआली–केचना ४० किलोमिटर दुरीको सहायक सडक कालोपत्रेको कामले गति लिइरहेकोे महतोले बताए ।

त्यसबाहेक मोरङ र झापा जोड्ने रतुवामाईमा निर्माण भएको पुलको पूर्व भागमा गत वर्ष नदीको कटानले क्षति पुगेको छ । ३ वर्ष अगाडि निर्माण सम्पन्न भएको पुलसँग सडक सञ्जाल भने जोडिएको छैन । मुख्य राजमार्ग अन्तर्गत पूर्व–पश्चिम र सहायक राजमार्गअन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकको अवस्था र आवश्यकता हेरेर ठेक्का प्रक्रिया बढाइएको आयोजना प्रमुख महतो बताउँछन् ।

तराईका जिल्ला जोड्ने लाइफलाइन सडकको रुपमा रहेको हुलाकी राजमार्गको पूर्व–पश्चिमतर्फको ९ सय ७५ किलोमिटर दुरी मुख्य राजमार्गको रूपमा पर्दछ । यसैसँग जोडिएर तराईका जिल्ला सदरमुकाम जोड्ने उत्तर–दक्षिण सहायक सडकको दुरी ८ सय १७ किलोमिटर पर्दछ । सहायक सडकमा ३२ वडा मार्ग निर्माण गर्नुपर्ने हुन्छ ।

मुख्य र सहायक सडकसहित एक हजार ७ सय ९२ किलोमिटर दुरीमा गर्नुपर्ने निर्माणको काममध्ये हालसम्म ७० किलोमिटर दुरी मात्रै कालोपत्रे भएको छ । हुलाकी राजमार्गलाई पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै ३० किलोमिटर दक्षिणतर्फ विस्तार गर्ने सरकारको योजना छ । आर्थिक वर्ष २०६२÷०६३ देखि निर्माण थालिएको राजमार्गमा भने अहिले पनि कतिपय स्थानमा आधारभूत संरचना बन्न भने सकेका छैनन् ।