इटहरीः अगामी चैत १२ गते अर्थात् आउँदो बिहीबारदेखि सुनसरीको इटहरीमा १ नम्बर प्रदेशका नगरस्तरीय फुटबल प्रतियोगित, साँस्कृतिक कार्यक्रम र स्वास्थ्य शिविर हुने भएको छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन, युवा तथा खेलकुद विभाग प्रदेश १ को आयोजना र जिल्ला फुटबल संघ सुनसरीको प्राविधिक सहयोगमा कार्यक्रम हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरी जनाइएको छ । कार्यक्रम संयोजक एवम् फाउन्डेसनका युवा तथा खेलकुद विभाग प्रदेश १ का संयोजक सूर्य राईले फुटबल प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका आठ वटा टिम सहभागि हुने जानकारी दिएका छन् । उनका अनुुसार आठ टिम समिलित प्रदेशस्तरीय खेलको उद्घाटन खेल बिहीबार दिउँसो ४ बजेबाट सुरु हुनेछ । सुनसरीका इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका र इनरुवा नगरपालिकाले प्रतियोगितामा सहभागिता जनाउने संयोजक राईले जानकारी दिए ।

यस्तै, झापाको दमक नगरपालिका, मोरङको विराटनगर महानगरपालिका र उर्लाबारी नगरपालिका, भोजपुरको चौदण्डगढी नगरपालिका र धनकुटाको धनकुटा नगरपालिकाले फुटबल खेलमा सहभागिता जनाउने भएका छन् । उद्घाटन खेलमा बिहीबार दिउँसो ४ बजे सुनसरीको इटहरी उपमहानगर र झापाको दमक नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन सत्रमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला, केन्द्रीय सदस्यहरु डा.शेखर कोइराला र प्रदीप पौडेलको विशेष उपस्थिति रहने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै सुनसरी फुटबल संघका कोषाध्यक्ष कोबितजंग कार्कीले प्रतियोगिता सम्पन्न गर्न सक्दो सहयोग गर्ने तथा आगामी दिनमा पनि फुटबल प्रतियोगिता जसले आयोजना गरेपनि साथ, सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।

नगरपालिकाले खेलकुद क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन उक्त प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । कार्कीले फुटबल विकासको लागि जुन क्लबले प्रतियोगिता आयोजना गरेपनि सबै क्षेत्रबाट प्रोत्साहन गर्न आवश्यक रहेको बताए । कोभिडका कारण विश्वभर खेलकुद धरासयी भएको अवस्थामा प्रतियोगिताको आयोजना गरेकोमा कार्कीले आयोजकप्रति आभार व्यक्त गरे । कार्यक्रमको कुल लागत २५ लाख लाग्ने अनुमान आयोजकको रहेको छ । खेलमा विजेता र उपविजेताले क्रमश दुई लाख र एक लाख नगद पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक राईले जानकारी दिए । फाइनल खेल भने चैत २१ गते हुनेछ । फुटबलसँगै विभागले साँस्कृतिक कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने भएको छ । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्य टोलीको उपस्थितिमा खेलाडी तथा दर्शकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गायिका मेलीना राई, बाल गायक प्रीतम आचार्य लगायतको प्रस्तुति रहनेछ । कार्यक्रमको तयारी तिव्र रुपमा अगाडि बढाइएको आयोजकले बताएको छ । साथै कार्यक्रमा प्रवेश शुल्क पनि नलाग्ने आयोजकले जानकारी दिएको छ ।