बेलबारीः मोरङको बेलबारी नगरपालिकाले उद्यमशीलताका माध्यमबाट बेरोजगार नागरिकहरुलाई आत्मनिर्भर र जीविकोपार्जन सहज बनाउन उद्यमशीलताका विभिन्न कार्यक्रमहरु सुरु गरेको छ ।

उद्यमशीलताका माध्यमबाट नागरिकहरुलाई आत्मनिर्भर बनाउन आयअर्जनसँग जोड्दै उद्यमी र व्यवसायी बनाउने उद्देश्यले हाल नगरपालिकाले मेड्पासँगको समन्वयमा उक्त कार्यक्रम सुरु गरेको हो । सोमबार वडा नं ६ मा सञ्चालित व्यवसाय सचेतता सुरु तथा लैङ्गिक समता र सामाजिक समावेसीकरण तालिम समापन भएको छ । आठ दिनअघि सुरु भएको सो तालिम पहिलो चरणको आठदिने सीप छनोट तालिमको रुपमा सञ्चालन गरिएको परियोजनाका फोकल पर्सन विनोद दाहालले बताए । यस परियोजनाले वडावासीहरु उत्साहित भएको र भोलिका दिनमा आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले नगरपालिकालाई समृद्ध बनाउन नागरिकहरुको आर्थिक अवस्थामा सुधार ल्याउन जरुरी रहेको बताइन् ।

उनले भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, मानवस संसाधन विकास र सुशासनको सवालमा नगरपालिका निरन्तर अघि बढिरहेको भन्दै नगरपालिकाले छोटो अवधिमा पनि विकास निमार्णका कार्यहरु सडक निर्माण स्तरोन्नति, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि र स्वरोजगारलगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दैगर्दा अबका दिनमा मानव संसाधन विकासलाई थप महत्वका साथ अघि बढाउन आवश्यक रहेको बताउँदै मुलुकमा रहेको बेरोजगारी समस्या समाधान गर्न अब स्थानीय तहबाट नै थालनी भएको र आर्थिक समृद्धिका लागि उद्यमशीलता आवश्यक भएकोले नागरिकलाई आत्मनिर्भर स्वरोजगार बनाउन उद्यमशीलता र व्यवसायिक सीप प्रदान गर्न आवश्यक भएकोले उक्त परियोजना कार्यनयन गरिरहेको बताइन् । परियोजनामा २६ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।