इटहरीः भारतमा ४० वर्षसम्म जेलजीवन बिताएका इलामको माई नगरपालिका घर भएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) गत शनिबार रिहा भई आइतबार घर फिर्ता आएपछि परिवारमा खुसीका साथै दुःख पनि आइपरेको छ ।

दुर्गाप्रसादकी ८६ वर्षीया आमा धनमायाले आफ्ना छोरासँग भेट्न पाउनु खुसीको कुरा भएपनि दुर्गाप्रसादमा रहेको मानसिक रोग दुःखको कारण बनेको छ । मानसिक रोगकै कारण दुर्गाप्रसाद बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा पुग्दा परिवारलाई उनको उपचारको चिन्ताले सताउन थालेको हो । २०३७ सालको माघमा तोरी बेच्न भनी इलामको देउमाई नगरपालिकाको मंगलबारे बजारको बुधबारे हाट गएका दुर्गाप्रसाद घर नफर्की भारततर्फ लागेकोमा सोको एक वर्षपछि दार्जिलिङका एक व्यक्तिको हत्या अभियोगमा उनी जेल परेका थिए । तर जेलमा रहेका दुर्गाप्रसादलाई भारतीय अधिकारीहरुले कहिल्यै अदालतमा पेस नै नगर्दा उनले अनाहकमा ४० वर्ष लामो जेलजीवन भोग्नुपरेको हो । कलकत्ता उच्च दुर्गाप्रसादलाई प्रत्येक ६ महिनामा उनको स्वास्थ्य अवस्थाको जानकारी गराउने सर्तमा गत शनिबार रिहा गरिदिएको थियो । उनीमाथि लागेको मुद्दा भने हालसम्म किनारा लागिसकेको छैन । लामो जेलजीवनकै कारण मानसिक समस्याको शिकार भएका दुर्गाप्रसादका भाई र दिदीसमेत मानसिक समस्याबाट पीडित रहेको उनका भतिजा गोपालले बताए ।

उनले भने, ‘लामो समय पछि ठूलोबुबा देख्न पाउँदा खुसी छु तर भोलिका दिनमा उपचारको अभावका कारण झन समस्या हुँने चिन्ता छ ।’ गोपालका अनुसार उनका बुबा धर्मानन्द र कान्छी फुपू पविमाया पनि मानसिक रोगी रहेकाले उपचारमा समस्या हुने चिन्ता बढेको हो । घरायसी समस्याकै कारण आफ्नो पढाइ बिग्रिएको भन्दै उनले कुनै संघसंस्थाको सहयोग पाए उपचारमा सहजता हुने बताए । उनका अनुसार उनका दुर्गाप्रसादका भाइ केदारनाथको पनि मानसिक समस्याकै कारण गत मंसिरमा ज्यान गइसकेको छ । दोस्रो विवाह गरेका बुबा धर्मानन्दले हाल विराट नर्सिङ होममा उपचार गराई औषधि खाइरहेको बताउँदै गोपालले बुबामा मानसिक समस्या देखिएपछि कान्छी आमाले पनि उनको साथ छोडेको बताए । दुर्गाप्रसादकी आमा धनमायाका पाँच छोरा र तीन छोरीमध्ये हाल दुर्गाप्रसादसहित दुई छोरा र दुई छोरी मात्र बाँकी रहेका छन् ।

दुई छोरा र एक छोरीको जन्मिएको केही समयमै मृत्यु भएकोमा त्यसपछि जन्मिएका दुई छोरा र दुई छोरीमध्ये एक छोरा केदारनाथको पनि ज्यान गइसकेको छ । श्रीमान्को मृत्युपछि आफ्नै भरमा छोराछोरीको पालनपोषण गरिरहेकी धनमायाले आफ्नो एउटा हातसमेत गुमाइसकेकी छन् । गाईले हानेर भाँचिदिएको हातको उपचार गर्न चिकित्सकको पहुँच नहुँदा हात कुहिएर झरेको धनमायाले बताइन् । कमजोर आर्थिक अवस्थाबाट कहिल्यै पार पाउन नसकेकी धनमायाले अनेक कठिनाइ व्यहोरेर आफ्नो र परिवारको गुजारा गर्दै आएको भन्दै छोराको उपचारका लागि सहयोग गरिदिन अपिल पनि गरेकी छन् ।