इटहरीः मोरङको बेलबारी नगरपालिकाले नागरिकहरुलाई न्यायको वास्तविक प्रत्याभूति दिलाउन नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप केन्द्रहरु स्थापना गर्ने भएको छ ।

नगरपालिकाले उक्त कार्य सम्पादनका लागि पालिकाभित्रका एघार वटै वडाहरुमा एकसाथ काम गर्नेगरी मेलमिलापकर्ताहरुलाई तालिम दिने काम थालेको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि मेलमिलापको तालिम सुरु गरेको छ ।कार्यक्रमकी अध्यक्ष एवम् न्यायिक समिति संयोजकसमेत रहेकी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले पानसमा बत्ति बालेर कार्यक्रमको समुद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै वडा नं २ का वडाध्यक्ष घनश्याम गौतमले न्यायिक क्षेत्रमा जिल्लामै उत्कृष्ट काम काम गरिरहेको बेलबारी नगरपालिका न्यायिक समितिले अब वडा वडा टोल टोलमा पुगेर न्याय दिने कुराले आफूलगायत नागरिकहरु उत्साहित भएको बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख ढाकाकुमारी पराजुलीले न्याय भन्ने कुरा दिनेले दिएजस्तो भन्दा पनि पाउनेले पाएजस्तो महसुस हुनेगरी दिनुपर्ने भएकोले न्यायिक संयन्त्रहरु अत्यन्तै सचेत र सावधानी अपनाएर मात्र न्यायमा पहुँच विस्तार गर्न सकिने बताइन् । ‘११ वटा वडाहरु रहेको बेलबारी नगरपालिकाका प्रत्येक वडाहरुबाट तीन जना गरी जम्मा ३३ जना सहभागीहरुले तालिम लिएपश्चात् वडा वडामै मेलमिलापकर्ताहरु रहनेगरी केन्द्रहरु स्थापना र सञ्चालन हुनेछन् । त्यसपछि टोलका मुद्दा टोलमै गाउँका मुद्दा गाउँमै मिलाउँछौ र नागरिकलाई सहज न्यायको प्रत्याभूति दिलाउँछौँ’–उपप्रमुख पराजुलीले भनिन् । न्यायिक समितिकी उजुरी प्रशासक तारा भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा न्यायिक समितिका सदस्यहरु, जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो । तालिमको सहजकर्ताको रुपमा मानव अधिकार मन्च इलाम रहेको छ ।