झापाः नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’मा २० लाखभन्दा बढी रकम भएको छ ।

पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो । सोही अक्षयकोषका लागि आज सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख र व्यवसायी मीनप्रकाश मैनालीले ५१ हजार एक सय एक रुपैयाँ प्रदान गरेका छन् । संस्थाका अध्यक्ष भीमा शिवकोटी र कोषका संयोजक रेजिना गौतमलाई सो रकमबराबरको चेक हस्तान्तरण गरिएको थियो ।

संस्थाका अध्यक्ष शिवाकोटीले कोष वृद्धिका लागि गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिले जन्मदिन, विवाह वार्षिकोत्सवलगायत कार्यक्रमको खर्च कटाएरसमेत अक्षयकोषलाई सहयोग प्रदान गरिरहेको जानकारी दिए । संस्थाले पाँच वर्षमा २५ लाख अक्षयकोषमा जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको थियो । -रासस