इटहरीः इटहरी– ८ स्थित श्री पाथीभरा आमा भक्ति सेवा संस्थाको आयोजनामा कात्तिक २४ गतेदेखि ३० गतेसम्म सप्ताह पुराणको आयोजना हुने भएको छ । आयोजक संस्थाले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
आयोजकका अनुसार पाथीभरा एफएमका धार्मिक कार्यक्रमका सञ्चालक युवा पण्डित कुबेर सुवेदी प्रमुख वाचक र महेश भट्टराई उपवाचक रहेका छन् । सप्ताह पुराणका प्रवक्ता युवा पं अश्विन नेपालका अनुसार पुराणबाट सङ्कलित रकमबाट आश्रम निर्माणार्थ अक्षयकोष स्थापना गरिनेछ । भक्तजनबाट जग्गा प्राप्त हुने आशाका साथ सप्ताह पुराणको आयोजना गरिएको संयोजक दीपा राईले बताइन् ।
संस्थाले सामाजिक सेवाका कार्यहरू अन्तर्गत विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, एवम् अनाथ आश्रमका बालबालिकालाई खाद्यान्न वितरणजस्ता कार्यहरू गर्दै आइरहेको संस्थाका अध्यक्ष कैलाश चौलागाईंले बताए ।