झापाः मेचीनगर नगरपालिकाका गौरवका योजनाहरूमा शहरी विकास मन्त्रालय, युजीडीपी तथा शहरी विकास भवन निर्माण विभागले लगानीका लागि इच्छा व्यक्त गरेको छ ।

नगरपालिकाको दोस्रो नगरसभाले मेचीनगरका गौरवका आयोजना तथा कार्यक्रम भनी प्रस्तावित आयोजनाहरू वा त्यस्तै प्रकृतिका दीर्घकालीन महत्वका योजना तथा कार्यक्रम समावेश गर्ने नीति लिएको छ । सङ्घीय सरकार तथा प्रदेश सरकारद्वारा नगरपालिकाभित्र सञ्चालन गरिने योजनाका विवरण समेत नगरपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गरिने भएको छ ।

बिहीबार नगरपालिकाको दोस्रो नगरसभाद्वारा पारित गौरवका योजनाहरूमा लगानी गर्नका निम्ति शहरी विकास कोषका पदाधिकारी र नगरपालिकाबीच प्रारम्भिक छलफल भएको छ । उपप्रमुख मीना पोखरेल उप्रेतीको कार्यकक्षमा दुईपक्षीय छलफल भएको थियो । नगरपालिकाभित्र कस्ता योजना रहेका छन् ? ती योजना कार्यान्वयनमा नगरपालिकाको भूमिका के रहन्छ ? योजनामा कति ऋण सहयोग गर्ने वा कति अनुदान रकम दिने भन्ने विषयमा मन्त्रालयको प्रतिनिधि मण्डलले प्रष्ट पारेको थियो ।

नगरपालिकाले आफ्ना नगरभित्रका योजनाका बारेमा प्रतिनिधि मण्डलको ध्यानाकर्षण गराएको थियो । ड्रेन, सडक, खेल मैदानसहित गौरवका योजनाका विषयमा छलफल भएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् । पहिलो चरण अन्तर्गत देशका ५ वटा नगरपालिकामा यस्ता आयोजना सम्पन्न भएको र दोस्रो चरण अन्तर्गतको यो कार्यक्रममा मेचीनगर नगरपालिकासहित देशभरका १६ वटा नगरपालिका छनोट भएको बताइएको छ । मन्त्रालयले विश्व बैंकको सहयोगमा योजना सम्पन्न गर्न सहयोग गर्ने बताइएको छ ।

नगरपालिकाको तर्फबाट उपप्रमुख उप्रेतीको नेतृत्वमा सामाजिक विकास समिति संयोजक नवीन बराल, पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल, वातावरण तथा विपद व्यवस्थापन समिति टीकाराम मग्राँती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ सहभागी थिए । त्यस्तै, सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्ती, इञ्जिनियर कमल कोइराला खाद्य विश्लेषक दीपेन्द्र कार्कीलगायतको सहभागिता थियो । कोषका तर्फबाट पदम मैनाली, किशोर श्रेष्ठ, रोशन श्रेष्ठ र अजयचन्द्रलाल कर्णले सहभागिता जनाएका थिए ।