इटहरीः गुरुङ समुदायको साझा संस्था तमु प्ये ल्हु संघ प्रदेश १ को प्रदेशस्तरीय भेला सम्पन्न भएको छ ।

सुनसरीको इटहरीमा प्रदेश १ का आठ वटा जिल्लाहरु संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा रहेका गुरुङ समुदायको उपस्थितिमा भेलाको आयोजना गरिएको हो । भेलामा संघका केन्द्रीय समितिका अध्यक्ष तथा महासचिवको पनि उपस्थिति रहेको थियो । २०४७ सालमा कास्कीको पोखरामा केन्द्रीय कार्यालय स्थापना गरी सञ्चालनमा आएको यो संघले गुरुङहरुको संस्कार, सँस्कृति र परम्पराको संरक्षण गर्ने महासचिव हर्क गुरुङले जानकारी दिए । ‘यो, तमु प्ये ल्हु संघ भन्ने संस्था हिजो २०४७ सालमा पोखरामा केन्द्रीय कार्यालय रहेर स्थापना भएको हो । यो संस्था नितान्त गुरुङहरुको हो । तमुहरुको धर्म, सँस्कार, सँस्कृतिको जगेर्ना गर्नको लागि यो संस्था स्थापना भएको हो । र, यो गुरुङहरुको मौलिक संस्था हो’ उनले भने ।

photo (1)

उनका अनुसार यस संघले प्रदेश कार्यालय इटहरीमा स्थापना गरेर काम गर्नेछ । हाल प्रदेशको आठ वटा जिल्लामा मात्र स्थापना भएको यो संघले बाँकी जिल्लाहरुमा पनि जिल्ला कमिटि बनाउने उनको भनाइ छ । यो संघ देशभरका २४ जिल्लामा विस्तार भइसकेको छ । अन्य ६ वटै प्रदेशमा प्रादेशिक समिति बनिसकेको र प्रदेश एकमा आजै समिति तयार हुने महासचिव गुरुङले जानकारी दिए । ‘पोखरामा केन्द्रीय कार्यालय रहेको यो संस्था अहिले देशका २४ वटा जिल्लामा स्थापना भइसकेका छन् । विदेशमा ९ वटा देशमा यसका शाखाहरु छन् । ‘देशको संविधानले गरेका पुनः संरचना अनुसार संघ, प्रदेश, जिल्ला र पालिकादेखि एकाइसम्म हामी कमिटि गठन गर्न लागेका छौँ’, महासचिव गरुङले भने ।

यसका साथै गुरुङ समुदायलाई आगामी वर्षमा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा बोन लेख्न पनि यो संघले अनुरोध गरेको उनले जानकारी दिएका छन् । ‘अहिले जुन यो २०७८ सालमा जनगणना हुँदैछ । जनगणना हुँदै गर्दा त्यहाँ विभिन्न महलहरु छ । त्यहाँ रहेको धर्मको महलमा २०६८ को जनगणनामा हाम्रो धर्मको संख्या कम देखिरहेको छ । हामी प्रकृतिवादी भएकोले हाम्रो धर्म बोन हो । त्यसैले हामीले सबैलाई धर्मको महलमा बोन लेख्न पनि सुझाएका छौँ’, उनले भने ।