बेलबारीः नगरपालिकामा विविध कार्यक्रम गरि १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ।
उज्यालो महिला फेडेरेसन बेलबारीको आयोजनामा आयोजित उक्त कार्यक्रम बेलबारी नगरपालिकाको सभाहलमा सप्पन्न भएको संस्थाकी अध्यक्ष तिला लेकालीले बताइन् । राजनैतिक दल,सामाजिक संघ संस्था जनप्रतिनिधि लगायतको उपस्थितिमा भएको सो कार्यक्रमलाई ओरेक नेपालका कार्यक्रम संयोजक दीपक सेन्चुरीले महिला हिंसा र रोकथामका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि सहभागीहरुले जिज्ञासा राख्दै महिला हिंसा विरुद्धका कार्यक्रम धेरै भए पनि हिंसा न्यूनीकरण नभएको तर्क राखेका थिए । कार्यक्रममा सञ्जीव धिमालले गीत, कवि विष्णु, बादलदेवी चाम्लिङ, सोनाली गुरुङ लगायतले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै समाजसेवी एवम् साहित्यकार इरान राईले महिला शसक्तिकरणका लागि आत्मनिर्भर र क्षमता विकासको आवश्यकता रहेको बताउँदै महिला हिंसा रोक्न महिला मात्र सचेत र सक्रिय भएर नपुग्ने भन्दै पुरुषको पनि ठूलो भूमिका रहेको साथै पुरुषहरु पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले विश्वका महिलाहरूलाई अधिकार प्राप्तिका लागि जागरण र सशक्तीकरणको सन्देश दिने वताउँदै यस्ता गतिविधिले सरकारलाई समेत सकारात्मक परिवर्तनका लागि पहलकदमीका लागि खबरदारी गर्ने बताइन् । पराजुलीले महिलाहरुको सक्रिय राजनीतिक सहभागिताले पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षणसम्बन्धी सेवामा विस्तार, आफ्नो शरीरमाथि आफ्नो अधिकारलगायत विषयमा कानुनी रूपमा नेपाली महिला अधिकारयुक्त बन्दै गएका सन्दर्भमा प्राप्त अधिकारहरु संस्थागत गर्दैगर्दा अधिकांश पुरुषहरुबाट सहयोग पाएपनि केही अतिवादी सोच र हेपाहा चरित्र भएका पुरुषहरुकै कारण शिक्षित र क्षमतावान महिलाहरुसमेत हिंसामा परेको बताइन् । एक्काइसौं शताब्दीमा आइपुग्दासमेत पुरुषले महिला शक्तिसम्पन्न भएको विषय गर्व गर्न किन सकेन ? अधिकारसम्पन्न महिलाहरुमाथि नै निरन्तर प्रहार किन हुँदैछ ? कहिले सुध्रिने पुरुषहरुको हेपाह प्रवृत्ति ? –उपप्रमुख पराजुलीको प्रश्न थियो । उनले यी सबै प्रश्नको उत्तर महिलाहरुको सक्रियताले दिनुपर्ने बताइन् । तिला लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रम शीतल रायले सञ्चालन गरेकी थिइन् ।