इटहरीः इटहरीमा एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन आज अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ इटहरी उपमहानगर कमिटिको आयोजनामा ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको औचित्य साथै वर्तमान राजनीतिक परिस्थिती’, विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज साथै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने सबैले यो दिवस महिला त्यसमा पनि श्रमिक महिलाहरुको लागि ऐतिहाँसिक दिन भएको बताएका छन् । साथै पछिल्लो समय महिला हिंसाका घटनाहरु बढेको भन्दै त्यसको न्यूनीकरणको लागि कानुनको उचित कार्यान्वयन आवश्यक रहेको वक्ताहरुको भनाइ छ ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी गौतमले अहिले राजनीतिमा देखिएको महिलाले महिलामाथि नै गरेको अपत्तिजनक भाषण र गतिविधिमा पुरुषको नै संलग्नता रहेको बताएकी छन् । उनले महिलाई पुरुषले प्रयोग गरेर महिलाकै विरोधी बनाएको आरोप लगाइन् । कार्यक्रममा अनेम संघका नगरदेखि केन्द्रसम्मका प्रमुख तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रमा सुनसरीका प्रदेशसभा सदस्यहरु लिलम बस्नेत र सर्वध्वज सावाँको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सावाँले माथिल्लो वर्गका महिलाहरु हिंसामा कमै पर्ने गरेको तर तल्लोस्तरका महिलाहरु धेरै हिंसामा पर्ने गरेको बताउँदै त्यस्ता महिलाहरुको हक, हित र अधिकारको सुनिश्चतताका लागि लागिपर्नुपर्ने महिला नेतृहरुलाई सुझाव दिए ।