बेलबारीः मोरङको बेलबारी नगरपालिकाले निशूल्क लोकसेवा कक्षाको संचालन गरेको छ ।
आज एक कार्यक्रमका बीच उपप्रमुख ढाकाकुमारी पराजुलीले पानसमा बत्ति बालेर तालिमको समुद्घाटन गरिन् । न्यू भिजन इटहरीले सहजीकरण गर्ने उक्त कार्यक्रमबाट आर्थिक बर्ष २०७७÷७८को विनियोजित बजेटमार्फत छात्राहरुलाई तालिम दिएको नगरपालिकाले बताएको छ । नगर क्षेत्रभित्रका ५० जना छात्राहरुलाई ३० दिनसम्म लोकसेवासम्बन्धी आवश्यक आधारभूत सिकाइ प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए ।
पढेलेखेका महिलाहरुलाई प्रशासनिक एवम् निजामती सेवामा प्रवेश गराई आत्मनिर्भरतातर्फ उन्मुख गराउँदै अवसर पाए समाजमा महिलाले पनि पुरुषसरह प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्छन् भन्ने कुरा सम्प्रेषण गर्दै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा सञ्चालन गरिएको नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन् । लोकसेवा पढेर निजामती सेवामा प्रवेश गर्ने रहर भएर पनि आर्थिक श्रोत साधनका अभावले अवसरबाट टाढा रहेका महिलाहरुलाई अवसर दिंदै उक्त क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गर्नको लागि तालिम सञ्चालन गरिएको उपप्रमुख पराजुलीले बताइन् ।