इटहरीः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनका कार्यालय इनरुवाले धरान उपमहानगरपालिकाको सहयोगमा धरानका होटलहरुको स्वच्छताको अनुगमन गरेको छ ।
आइतबार र सोमबार भएको सो अनुगमनमा धरानका २० वटा होटलहरुको स्वच्छता अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनका कार्यालय इनरुवाका कार्यालय प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए । उनका अनुसार विभिन्न ५० ओटा मापदण्ड निर्धारण गरी हरेक मापदण्डका लागि २ नम्बर प्रदान गर्दै होटलहरुलाई चार वर्गमा विभाजन गरिएको हो । पहिलो अर्थात् ‘क’ वर्गमा अतिउत्तम, ‘ख’ वर्गमा उत्तम, ‘ग’ वर्गमा सन्तोषजनक र ‘घ’ वर्गमा सामान्य तथा सुधार गर्नुपर्ने होटलहरुलाई राखिएको घिमिरेले जानकारी दिएका छन् । अनुगमनका क्रममा एउटा होटल मात्र अतिउत्तम वर्गमा एउटा मात्र होटल परेको छ ।
कार्यालय प्रमुख घिमिरेका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर ८ भोटेपूल चौकमा सञ्चालनमा रहेको होटल गजुर प्यालेसले ९३ नम्बर प्राप्त गर्दै अतिउत्तमको सूचीमा परेको हो । यस्तै उत्तमको सूचीमा ६ वटा होटलहरु सूचीकृत भएको घिमिरेले जानकारी दिए । होटल धरान किचन प्रा.लि., लेवल अप, वराह फ्यामिली किचन, न्यू ड्रिमल्याण्ड होटल एण्ड लज, होटल इजी राइडर प्रा.लि. र ओ.इ.सी मीठो सेकुवा हाउस उत्तमको सूचीमा परेका हुन् । यस्तै होटल कंचनजंघा, होटल सन्ध्या इन, न्यू धरान गोरखा किचन, होटल स्टार पूर्व, होटल वइड डोप, भिमपेच फ्यामिली रेस्टुरेन्ट, न्यू वगरकोट लोकदोहोरी साँझ र मेयाङ्वो होटल तथा सेकुवा घर सन्तोषजनकको सूचिमा परेका छन् । अनुगमनको क्रममा हादाना लाउन्च एण्ड बार र भाइस रेष्टुरेन्ट एण्ड ग्रिन हाउस सामान्यको सूचिमा परेका छन् । द रत्न इन कोरीयन, हानगुक साराट रेस्टुरेन्ट र भिमपेच लोन एण्ड बार पुनः मूल्याङकनको सूचीमा परेको घिमिरले जानकारी दिए ।