इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्र आङ्बोको नेतृत्वमा प्रचण्ड माधव पक्षीय सांसदहरुले गत पुस १२ गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव आज प्रदेशसभासमक्ष पेस भएको छ ।

अविश्वास प्रस्ताव पेस हुन नदिने रणनीतिका साथ मुख्यमन्त्री राईसहित ओली पक्षीय सांसदहरुले संसद बैठक बहिष्कार गरेपनि सभामुख प्रदीपकुमार भण्डारीले अन्य सदस्यको सहभागितामा बैठक सञ्चालन गरेपछि मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव पेस भएको हो । निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको प्रदेशसभा बैठक अविश्वास प्रस्ताव पेस हुनासाथ फागुन २० गते दिनको १ बजे सम्मका लागि स्थगित भएको छ । आफूविरुद्ध अविश्वास प्रस्ताव पेस गर्न लागेको जानकारी पाउनासाथ पुस ११ गते आर्थिक मामिला मन्त्री आङ्बोलाई बरखास्त गरेका मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव प्रस्तुत हुन नदिन विभिन्न हत्कण्डा अपनाउँदै आएका थिए ।

मुख्यमन्त्री राईकै असहयोगका कारण आज बसेको प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मात्र अविश्वास प्रस्ताव टेबल हुन सकेको हो ।